सेयर बजारमा उछाल, सूचक २ हजार माथि उक्लियो

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । सोमबारदेखि लगातार उकालो लागेको नेप्से आज एकैदिन ४४ अंकले बढेको हो । पछिल्ला तीन दिनमै नेप्से ६५ अंकले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको १२ करोडको सीमा पुनरावलोकन गर्ने हल्ला चलेसँगै सेयर बजारमा उछाल आएको हो । अर्थमन्त्री प्रकाशशरण महत र गभर्नर महाप्रसाद अधिकारी बीच भएको छलफलपछि गभर्नरले सेयर धितो कर्जाको सीमा बढाउने संकेत दिएको जनाइएको छ ।

लगानीकर्ताले लामो समयदेखि सेयर धितोमा लगाइएको १२ करोडको सीमा हटाउन माग गर्दै आएका छन् भने सरकारले पनि राष्ट्र बैंककै कारण सेयर बजारमा गिरावट आएको बताउँदै आएको छ । लगानीकर्ता र सरकारको दबाबमा परेका गभर्नर अधिकारीले सेयर धितो कर्जाको सीमा केही खुकुलो बनाउने तयारी गरेको बुझिएको छ ।

आज सूचकसँगै कारोबार रकममा पनि झन्डै तीन गुणाले बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २ अर्ब १२ करोड रुपैयाँ बढेर ३ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । यो पछिल्लो २ महिना यताकै धेरै हो ।

बिहीबार नेप्से परिसूचक ४४.३४ अंकले बढेर २०२९.७८ विन्दुमा पुगेको छ । यसदिन २७८ कम्पनीको १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै ५.३१ प्रतिशतले बढेको छ ।

आज सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको २० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

उच्च अंकले बढेको बजारमा आज १ दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेशनल हाइड्रो, दिव्यश्वरी हाइड्रो, हिमाल दोलखा हाइड्रोपावर र स्वाभिमान लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढको छ ।

त्यसैगरी, मन्दाकिनी, थ्रीस्टार, न्यादी, खानीखोला, अरुण काबेली, आँखुखोला, बाराही र मैलुङ खोलाका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

भारतद्धारा क्यानडाका नागरिकलाई भिसा दिन रोक, दूतावासको सेवा अनिश्चतकालीन बन्द Read Previous

भारतद्धारा क्यानडाका नागरिकलाई भिसा दिन रोक, दूतावासको सेवा अनिश्चतकालीन बन्द

डिजिटल वालेटका चाडपर्व अफर : बाइकदेखि १ करोड नगद पाइने, कुनको कस्तो ? Read Next

डिजिटल वालेटका चाडपर्व अफर : बाइकदेखि १ करोड नगद पाइने, कुनको कस्तो ?