काठमाडौं । भाटभटेनी सुपरमार्केटले नयाँ शाखा संचालनमा ल्याएको छ । भाटभटेनीले आफ्नो २६ औं शाखा बिहीबारदेखि झापाको बिर्तामोडमा संचालनमा ल्याएको हो ।
उक्त शाखाको उद्घाटन भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले गरेका हुन् । उनले विषम परिस्थितिमा पनि भाटभटेनीले रोजगारी सिर्जना गर्न सफल भएको बताए ।
बेरोजगारीको विकराल अवस्थामा पनि मेचीदेखि महाकालीसम्म रोजगारी सिर्जना गर्न सफल भएको गुरुङले बताए । उनले ग्राहकको चाहना र मागअनुसार आफूहरू सधैँ अघि बढेको बताए ।
करिब २ अर्ब लगानी रहेको बिर्तामोड स्टोरमा पूर्वी क्षेत्रका ३५० जनालाई रोजगारी सिर्जना गरेको भाटभटेनीले जनाएको छ । पछिल्लो समय भाटभटेनीले देशव्यापी रुपमा शाखा विस्तार गरिरहेको छ ।