काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण आज पनि काठमाडौंको सवारी आवगमन अस्तव्यस्त भएको छ ।
सरकारले सदनमा दर्ता गरेको शिक्षा विधेयक विरुद्ध बुधबारदेखि देशभरका शिक्षक काठमाडौंमा आन्दोलित भएका छन् । जसका कारण काठमाडौंको भद्रकाली, थापाथली, त्रिपुरेश्वर, नयाँबानेश्वर, तीनकुने, कोटेश्वर लगायत ठाउँमा सवारी आवगमन अस्तव्यस्त भएको हो
।
आन्दोलनका कारण माइतीघरदेखि बानेश्वसम्म सवारी संचालन हुनै सकेका छैनन् भने अन्य स्थानमा ठूलो जाम भएको छ । जसकारण गन्तव्यमा हिँडेका यात्रुले हैरानी व्यहोर्नु परेको छ । मुख्य सडकमा सवारी आवगमन अवरुद्ध भएपछि नदी करिडोरमा चाप बढेको छ ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको अगुवाइमा भइरहेको आन्दोलमा शिक्षकहरुले माइतीघरदेखि नयाँ बानेश्वसम्म प्रदर्शन गरिरहेका छन् । उनीहरु देशभरका सबै सामुदायिक विद्यालय नै बन्द गरेर आन्दोलनमा होमिँदा देशभरका लाखौं विद्यार्थी पढाइबाट बञ्चित भएका छन् भने काठमाडौंको सवारी आवगमन समेत प्रभावित बनेको छ ।
शिक्षकहरु प्रस्तावित विधेयमा गरिएका केही व्यवस्थाहरु खारेजसहित विभिन्न १८ बुँदे माग राख्दै आन्दोलमा उत्रिएका हुन् ।
शिक्षा विधेयकमा गरिएका व्यवस्थाले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरूवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा रहेका समस्या समाधान गर्न नसकेको भन्दै उनीहरु आन्दोलनमा होमिएका हुन् ।