हुलाकी राजमार्ग भरतपुरखण्ड : २ वर्षमा सक्नुपर्ने काम ३ वर्षमा पनि आधा मात्रै पूरा

चितवन । हुलाकी राजमार्गअन्तर्गत भरतपुरको हाकिमचोकदेखि पकौडीसम्मको सडक फराकिलो गर्ने काम ५० प्रतिशत मात्रै सम्पन्न भएको छ । दुई वर्षमा सम्पन्न गर्नुपर्ने सडकको काम तीन वर्ष बितिसक्दा आधा मात्रै भएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर सागर कार्कीका अनुसार विसं २०७७ जेठ २९ गते दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी लामा शिवशक्ति जेभीले ठेक्का सम्झौता गरेको थियो । रु २९ करोडको लागतमा निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले निर्माणका लागि दुईपटक समय थप गरेको उनले जानकारी दिए । निर्माणको समय थपिएसँगै संशोधित निर्माण लागत रु ३० करोड ७३ लाख पुगेको छ ।

पहिलो पटक विसं २०८० जेठ मसान्तसम्म समय थप गरिएकामा दोस्रो पटक विसं २०८१ जेठ मसान्तसम्म समय थप गरिएको छ । करिब १३.५ किलोमिटर लामो सो सडकको बीच भागमा ५ मिटर फराकिलो कालोपत्र छ । सडकको दुवैतर्फ २.५ मिटरका दरले सडक कालोपत्र गरिँदै छ । सडक सम्पन्न हुँदै गर्दा १० मिटर कालोपत्र हुँदैछ । हालसम्म आठ किलोमिटर सडक कालोपत्रको काम सम्पन्न भएको छ ।

उनले भने, ‘बाँकी सडक निर्माणका लागि अहिले बिजुलीको खम्बा र चौतारा हटाउने कार्य भइरहेको छ ।’ अहिले हाकिमचोकदेखि सीताराम चोकसम्मको खम्बा हटाउने कार्य भइरहेको उनले जानकारी दिए । उनले थपे, ‘सडकमा भएका अवरोधका कारण काममा ढिलाइ भएको हो ।’

हुलाकी सडक निर्देशनालयले बोलपत्र आह्वान गरी सम्झौता गरेसँगै फिल्डको जिम्मा डिभिजन सडक कार्यालयलाई दिएको हो । सडकको क्षेत्राधिकार ५० मिटर फराकिलो भए पनि आवश्यकताअनुसार चौडाइ थप्दै लगिने कार्कीले जानकारी दिए।

सडकको पाँच किलोमिटर सहरी क्षेत्रमा नालासमेत बनाइँदैछ । यस्तै हाकिमचोकदेखि क्यान्सर गेटसम्म फुटपाथसमेत बनाउने गरी ठेक्का दिइएको हो । यो सडक चितवन राष्ट्रिय निकुञ्ज, माडी हुँदै पर्साको ठोरीमा पुगेर भारतीय सीमामा जोडिन्छ ।रासस

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी Read Previous

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी

नियन्त्रणमुखी नीति र ब्याजदरको चपेटामा सेयर बजार, छैन सुधारको प्रयास Read Next

नियन्त्रणमुखी नीति र ब्याजदरको चपेटामा सेयर बजार, छैन सुधारको प्रयास