काठमाडौं । दुई वर्षअघि (२०७८ भदौ २ गते) ३१९९ विन्दुको ऐतिहासिक रेकर्ड बनाएको नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसूचक) अहिले १ हजार ९५० विन्दु हाराहारीमा झरेको छ । त्यसयता लगातार ओरालो लागेको नेप्सेले २ वर्ष बित्दा पनि अझै गति लिने संकेत देखाएको छैन ।
२०७८ भदौ २ गते बजार पूँजीकरण ४४ खर्ब रुपैयाँ पुगेको बजार पूँजीकरण अहिले २९ खर्ब हाराहारीम छ । यस अवधिमा लगानीकर्ताले झन्डै १५ खर्ब गुमाएका छन् । यस बीचमा नेप्सेमा झन्डै ३ बढी नयाँ कम्पनी सूचीकृत भइसकेका छन् । तिनको समेत पूँजीकरण हिसाब गर्दा झनै धेरै लगानीकर्ताले झन् धेरै सम्पत्ति गुमाएका छन् । पछिल्लो दुई वर्षमा पूँजीबजारमा ४२ प्रतिशतले गिरावट आएको छ ।
सेयर बजारमा घट/बढ हुनु स्वभाविक भए पनि नेपालको सेयर बजारमा भने नियामकहरूको अनावश्यक हस्तक्षेप र अदूरदर्शी नीतिका कारण घटेको लगानीकर्ताहरू बताउँछन् ।
नेप्से उच्च विन्दुमा पुगेकै बेला राष्ट्र बैंकले सेयर बजारलाई अनुत्पादक क्षेत्र भन्दै कर्जा लगानीमा कडाइ गर्यो । कोभिडपछि सस्तो ब्याजदरका कारण आकाशिएको सेयर बजारलाई राष्ट्र बैंकले एकैपटक दुईवटा नीति लादेर नियन्त्रण गर्यो । राष्ट्र बैंकले एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र समग्र बैंकिङ प्रणालीबाट बढीमा १२ करोडभन्दा धेरै ऋण लिन नपाउने व्यवस्था गर्यो । साथै, सेयरधितो कर्जाको जोखिमभार १०० प्रतिशतबाट बढाएर १५० प्रतिशत पुर्यायो । यिनै व्यवस्थाले ओरालो लागेको नेप्सेले अझै टाउको उठाउन सकेको छैन ।
राष्ट्र बैंकको कडाइसँगै बैंकिङ प्रणालीमा ब्याजदर पनि आकाशिँदै गयो । यसले झन् बजारलाई पेनिक बनाउँदा सूचकमा निरन्तर गिरावट आइरहेको छ । २ वर्ष अघि ७/८ प्रतिशत ब्इाजदरमै सेयर कर्जा दिने बैंकहरूले अहिले १५ प्रतिशत पुर्याएका छन् । जसकारण लगानीकर्ताले ऋण लिएर लगानीगर्न सक्ने अवस्था नरहेको बताउँदै आएका छन् ।
२ वर्षदेखि बियरिस ट्रेन्डमा रहेको सेयर बजार पछिल्लो समय प्रणालीमा भएको अधिक तरलताका कारण बढ्ने अपेक्षा गरिएको थियो । तर, चालु आर्थिक वर्षको मौद्रिक नीति आएयता बजार झनै उतारचढावपूर्ण बनेको छ । साउन यता मात्रै नेप्से झन्डै ४०० अंकले घटेको छ ।पूँजीबजारलाई अर्थतन्त्रको ऐना मानिने भए पनि नेपालमा भने नियामकहरुले यसलाई बुझ्नै नसकेकाले सधैं संकुचित र नियन्त्रणमुखी नीति लाद्ने गरेको लगानीकर्ताको आरोप छ ।
वित्तीय प्रणालीका सूचक र नीतिहरू बजार अनुकुल हुँदा लगानीकर्ताको आकर्षणमा परेको पूँजी बजार अहिले सोही अनुकुलता उल्टिँदा माथि जान नसकेको हो । अहिले प्रणालीमा अधिक तरलता, अन्य क्षेत्रमा कर्जाको माग नहुनु, अर्थतन्त्रका बाह्य सूचकहरू मजबुत बन्दै जानु, लगानीकर्ता र ब्रोकरको संख्या थपिनु लगायत सेयर बजार अनुकूल अवस्था रहे पनि बजारले भने गति लिन सकेको छैन ।
सेयर लगानीकर्ता अम्बिका पौडेल घटबढ हुनु पूँजी बजारको सुन्दर पक्ष भए पनि नीतिगत अस्थिरताले घट्नुमा आपत्ति भएको बताउँछन् । ‘अहिले सेयर बजारको अवस्था भयावह छ । पूँजी बजार घटबढ् हुन्छ नै । यो यसको सुन्दर पक्ष पनि हो,’ उनले भने, ‘तर, नीतिगत अस्थिरताले घट्नुमा आपत्ति हो । पछिल्लो एक वर्षको तथ्यांक हेर्दा बजारको अवस्था देखिन्छ ।’
बजार उच्च विन्दुमा हुँदा लादिएको नीति अझै कायम राख्दा बजारले टाउको उठाउनै नसकेको उनले बताए । राष्ट्र बैंकले अहिले १२ करोडको सीमा र जोखिमभारमा पुनरावलोकन गर्न ढिलाइ भइसकेका उनले बताए ।
नेपाल राष्ट्र बैंकले लिएको नीति र वित्तीय अवस्थाले पनि बजारलाई प्रत्यक्ष वा परोक्ष रुपमा असर पार्ने गरेको तथ्यांकले देखाउँछ । बजारमा पर्याप्त तरलता हुँदा बैंकहरूले ब्याजदर घटाउने र कर्जा प्रवाह बढाउने गर्छन् । जसले बजारलाई सकारात्मक असर गरेको देखिन्छ ।
तर, गत वर्षदेखि वित्तीय प्रणालीमा तरलता थुप्रिँदा समेत ब्याजदर घट्न सकेको छैन भने कर्जा लगानीमा नियामकको नीतिगत कडाइ कायमै छ । डेढ वर्षयता अर्थतन्त्रमा आएको संकटका कारण पनि आन्तरिक माग र आपूर्तिमा समस्या देखिएको छ । जसको कारण समग्र अर्थतन्त्रमा शिथिलता छ र त्यसको असर पूँजी बजारमा समेत परेको देखिन्छ ।
पूँजीबजार र ब्याजदरको सम्बन्ध
ब्याजदर घट्दा पूँजी बजारको लागि अनुकूल र बढ्दा प्रतिकूल हुने गरेको तथ्यांकले देखाउँछ । नेपाल धितोपत्र बोर्डका उपनिर्देशक नारायणप्रसाद शर्मा ब्याजदर र पूँजीबजारको विपरीत सम्बन्ध देखिएको बताउँछन् । ‘नेप्से परिसूचक र ब्याजदरको उल्टो सम्बन्ध देखिन्छ । ब्याजदर बढ्दा परिसूचक घटेको र घट्दा बढेको तथ्यांकले देखाउँछ’ उनले भने ।
नेप्सेको तथ्यांक अनुसार आव २०६४/६५ मा बैंकको औषत वार्षिक ब्याजदर ४.२२ प्रतिशत हुँदा पूँजी बजार ११६५ अंकको विन्दुमा पुगेको थियो । २०६५/६६ मा ब्याजदर बढेर ५.८३ प्रतिशत पुग्दा नेप्से परिसूचक ७४९ को अंकमा झरेको देखिन्छ ।
२०६६/६७ मा ६.५० प्रतिशत ब्याजदर पुग्दा नेप्से ४७७ को विन्दुमा आइपुगेको तथ्यांकले देखाउँछ । २०६७/६८ मा ब्याजदर वृद्धि भएर ७.४१ प्रतिशत पुग्दा नेप्से ३६२ अंकमा पुगेको थियो ।
आव २०७०/७१ मा बैंकको ब्याजदर वार्षिक औषत ०.१३ प्रतिशत हुँदा सेयर बजार परिसूचक १०३६ अंकमा पुगेको थियो । त्यसपछि पनि ब्याजदर र सेयर बजारको यो उतारचढाव निरन्तर रहँदै आएको देखिन्छ । २०७६/७७ मा ब्याजदर २.१९ हुँदा नेप्से २८८३ अंकमा पुगेको तथ्यांकले देखाउँछ । २०७८/७९ मा ३ प्रतिशत औषत ब्याजदर रहेको अवस्थामा भदौमा नेप्से ३१९९ को विन्दुमा पुगेको थियो । २०८९/८० मा ९.५१ प्रतिशत औषत वार्षिक ब्याजदर पुग्दा बजार घटेर २०९७ को विन्दुमा झरेको तथ्यांकले देखाउँछ ।
बैंकले ऋण दिँदा बढ्छ, नदिँदा घट्ने
सेयर धितो कर्जा र सेयर बजार बीच सकारात्मक सम्बन्ध रहेको तथ्यांकले देखाउँछ । बोर्डका उपनिर्देशक शर्मा मार्जिन नेचर लोन र नेप्सेको एउटै टे्रन्ड देखिएको बताउँछन् । ‘मार्जिन प्रकृतिको ऋण प्रवाह र नेप्सेको ट्रेन्ड एउटै देखिन्छ । ऋण बढ्दा बजार पनि बढेको छ,’ उनी भन्छन् ।
आव २०६९/७० मा १ अर्ब ९२ करोड रुपैयाँ मार्जिन प्रकृतिको ऋण कगानी हुँदा नेप्से परिसूचक १०१९ को विन्दुमा थियो । २०७२/७३ सम्म ३७ अर्ब ७३ करोड रुपैयाँ ऋण लगानी पुग्दा परिसूचक १७१८ को विन्दुमा पुगेको तथ्यांक छ ।
२०७७/७८ मा बैंकको कर्जा प्रवाह १ खर्ब ६ अर्ब हुँदा २८८३ को विन्दुमा नेप्से पुगेको थियो । २०७८/७९ मा मार्जिन लोन घटेर ८० अर्ब ५० करोड रुपैयाँमा सिमित हुँदा परिसूचक २००९ अंकमा आएको तथ्यांकले देखाएको छ ।
२०७९/८० मा ७६ अर्ब ३० करोडमा मार्जिन लोन सिमित हुँदा नेप्से परिसूचक पनि दुई हजारकै विन्दुमा छ ।
बैंकहरूले सेयर धितो कर्जा बढाउँदा सेयर बजारमा पनि उछाल आएको र ऋण लगानी घटाउँदा बजार घटेको छ । राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा ठूलो ऋण प्रवाह भएको आशंकामा अघिल्लो वर्षदेखि मार्जिन प्रकृतिको ऋणमा कडाइ गर्दै आएको छ ।
राष्ट्र बैंकले बैंकहरूलाई सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशतबाट बढाए १५० कायम गरेको थियो भने कर्जाको सीमा १२ करोड रुपैयाँ मात्रै तोकेको छ । यद्यपि, चालु वर्षमा भने ५० लाख रुपैयाँ सम्मको सेयर धितो कर्जाको जोखिमभार घटाएर शतप्रतिशत कायम गरिएको छ । राष्ट्र बैंकको यस नीतिगत कडाइले पनि बजारमा असर देखिएको लगानीकर्ताको भनाइ छ । पछिल्लो समय भने लगानीकर्ताको मनोबल वृद्धि नहुँदा ऋणको माग नबढेको बैंकरहरू बताउँछन् ।