काठमाडौं । वित्तीय प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै वाणिज्य बैंकहरू बीच निक्षेप तान्ने होडबाजी चलेको छ । लामो समयदेखि कर्जाको माग नहुँदा बैंकमै पैसा थुप्रिएका बेला कर्जा लगानी केन्द्रित हुनुपर्नेमा उल्टो पैसा थुपार्न ब्याजदर बढाउने प्रतिस्पर्धा गरेका हुन् ।
भदौको तुलनामा असोजमा ८ वटा बैंकले निक्षेपको ब्याजदर बढाएका छन् । असोजमा ४ बैंकले ब्याजदर स्थिर राखेका छन् भने ८ वटाले घटाएका छन् । सार्वजनिक ब्याजदर अनुसार बाािण्ज्य बैंकहरू बीच निक्षेपको ब्याज झन्डै २ प्रतिशतको अन्त्र देखिएको छ । बैंकहरूले निक्षेपको ब्याज न्यूनतम ९.२९ प्रतिशतदेखि ११.०५४ प्रतिशतसम्म तोकेका छन् ।
बैंकहरूले लामो समयदेखि भद्र सहमतिका नाममा एउटै ब्याजदर दिँदै आएका थिए । भदौ महिनादेखि भने भद्र सहमति तोड्दै आफूखुसी ब्याजदर तोक्न थालेका हुन् । आफूखुसी ब्याज तोक्न थालेपछि अर्को बैंकमा रहेको निक्षेप तान्न बढी ब्याज दिन थालेका छन् । यद्यपि, बैंकहरूले अघिल्लो महिनाको तुलनामा १० प्रतिशतभन्दा धेरै ब्याजदर बढाउन/घटाउन पाउँदैनन् ।
खुला बजार अर्थतन्त्रमा बजारको माग अनुसार ब्याजदर निर्धारण गर्न बैंकहरू स्वतन्त्र छन् । तर, आर्थिक शिथिलताका कारण कर्जाको माग नभएको र प्रणालीमै साढे ३ खर्ब बढी लगानीयोग्य रकम हुँदाहुँदै निक्षेपको ब्याज बढाउँदा अस्वभाविक देखिएको जानकारहरू बताउँछन् ।
सरकारले ब्याजदर घटाउने शर्तमा स्थानीय तहको संचित रकमको ६० प्रतिशत निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको थियो । सो व्यवस्था अनुसार प्रणालीमा ६० अर्ब निक्षेप थपिएपछि ब्याजदर घट्ने सरकार र उद्योगीको अपेक्षा विपरीत बैंकहरूले भने उल्टो ब्याजदर बढाएका हुन् ।
नेपाल राष्ट्र बैंकका अनुसार अहिले वित्तीय संस्थाको सीडी रेसीयो औषतमा ८२ प्रतिशत छ । संस्थाहरूले ९० प्रतिशतको सीडी अनुपातसम्म ऋण प्रवाह गर्न पाउने व्यवस्था छ ।
आफ्नो बैंकमा भएको निक्षेप खोसिने डरले नै बैंकहरूले अन्य कुरा वेवास्ता गर्दै ब्याजदर बढाएका वित्तीय क्षेत्रका जानकारहरू बताउँछन् । केही बैंकमा ठूला संस्थागत निक्षेपकर्ताको मुद्दती परिपक्क हुने बेला भएको र ब्याजदर घटाउँदा उक्त निक्षेप अर्को बैंकमा जाने डरले बैंकहरूले निक्षेपको ब्याज बढाएको उनीहरूको भनाइ छ ।
कर्जाको माग संकुचन र लगानीको संकटमा रहेका बेला ब्याजदर घटाएर व्यवसाय बढाउनुपर्ने परिस्थिति विपरीत बैंकहरूले अस्वस्थ प्रतिस्पर्धा गरेको वाणिज्य बैंकका एक प्रमुख कार्यकारी अधिकृत बताउँछन् ।
‘अहिले कतिपय ठूलै बैंकलाई पनि ब्याजदर घटाउँदा निक्षेप खोसिन्छ कि भन्ने डर देखिएको छ,’ उनी भन्छन्, ‘वर्षभरि पुग्ने लगानी हुँदाहुँदै यस्तो गर्नु ठीक होइन् । बैंकको आधारदरमा खासै फरक देखिएको छैन । अहिले ब्याज घटाएर माग बढाउनुपर्ने परिस्थिति हो ।’
प्रणालीमा भएको स्रोत परिचालन गरी व्यवसाय बढाउनुपर्नेमा उल्टो बैंकहरूले लागत बढाएका छन् । निक्षेपको ब्याज बढ्दा बैंक्को लागत बढ्न गई कर्जाको ब्याजदर समेत बढ्छ । ब्याजदर महँगो भन्दै कर्जाको माग नभएको बेला झन् ब्याजदर बढाउँदा बैंकको व्यवसायमै धक्का लाग्न सक्ने जानकारहरू बताउँछन् ।ब्याजदर घटाइ कर्जाको माग बढाउन प्रयास गर्नुपर्नेमा निक्षेपको ब्याज बढाइ बैंकहरू उल्टो बाटो हिँडेको उनीहरूको भनाइ छ ।
कर्जाको माग नहुँदा गत आर्थिक वर्षदेखि बैंकहरूले व्यवसाय बढाउन सकेका छैनन् । व्यवसायीहरू उच्च ब्याजदरले नयाँ लगानी गर्ने वातावारण नभएको बताइरहेका छन् । लगानीकर्ताको मनोबल बढ्न नसक्दा उपभोग र आपूर्ति चक्रमै समस्या देखिएको छ । त्यसको असर आन्तरिक अर्थतन्त्रमा देखिएको छ ।
राष्ट्र बैंकका अनुसार आवको पहिलो महिना(असाउन)मा बैंकहरूको कर्जा लगानी २.३ प्रतिशतले घटेको थियो । भदौको अन्तिम सातासम्म बैंक तथा वित्तीय संस्थाले ४१ अर्ब रुपैयाँ कर्जा लगानी बढाउँदा १ खर्ब ६ अर्ब रुपैयाँले बढाएका छन् । गत आवमा समेत बैंकको कर्जा लगानी ४ प्रतिशले मात्रै वृद्धि भएको थियो । जुन लक्ष्यको एकतिहाइ मात्रै हो ।
चालु वर्षमा पनि राष्ट्र बैंकले निजी क्षेत्रतर्फ ११.६ प्रतिशतले कर्जा लगानी बढाउने लक्ष्य लिएको छ । तर, कर्जाको माग नहुँदा यो वर्ष पनि सो लक्ष्य नभेटिने बैंकरहरू बताउँछन् ।