साढे ११ प्रतिशतसम्म पुग्यो निक्षेपको ब्याज, असोजमा कुनले बढाए, कुनले घटाए ?

काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले आइतबार सार्वजनिक गरेको ब्याजदर अनुसार निक्षेपको ब्याजदर केहीले घटाएका छन् भने केहीले बढाएका छन् ।

असोजका लागि आधा दर्जन बैंकले ब्याजदर बढाएका छन् भने आधा दर्जन बैंकले घटाएका छन् । यस्तै, आधादर्जन बैंकको स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार वाणिज्य बैंकहरूले अघिल्लो महिनाको ब्याजदरको तुलनामा १० प्रतिशत ब्याजदर घटाउन÷बढाउन पाउँछन् । सोही अनुसार बैंकहरूले ब्याजदर बढाएका हुन् ।

साउनदेखि नेपाल बैंकर्स संघले बैंकहरूलाई ब्याजदर निर्धारण गर्न स्वतन्त्र छाडेसँगै बैंकहरूले भदौदेखि आफूखुसी निक्षेपको ब्याजदर तोक्दै आएका छन् । साउनअघि संघले ब्यादरमा हस्तक्षेप गर्दा सबै बैंकको एउटै ब्याजदर हुने गरेको थियो ।

असोजमा केही बैंकहरूले निक्षेपको ब्याजदर ११ प्रतिशत माथि पुर्याएका छन् । गत फागुन यता घट्दो क्रममा रहेको निक्षेपको ब्याजदर भदौदेखि कार्टेलिङ हटेसँगै केही बैंकले बढाएर ११ प्रतिशत माथि पुर्याएका हुन् । यद्यपि, समग्रमा भने व्यक्तिगत निक्षेपकाे ब्याजदर ११ प्रतिशतभन्दा तल नै रहेको छ ।

असोजमा वाणिज्य बैंकहरू बीच निक्षेपको ब्याजदर झन्डै २ प्रतिशतसम्म फरक भएको छ । व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम दिनले ११.३५८ प्रतिशत र न्यूनतम ९.५ प्रतिशत ब्याजदर दिने भएका छन् । त्यस्तै, संस्थागत मुद्दतीमा न्यूनतम ७.४६ प्रतिशतदेखि ९.३५८ प्रतिशतसम्म ब्याजदर दिने भएका छन् ।

असोजका लागि प्राइम कमर्शियल बैंकले सबैभन्दा धेरै ११.३५८ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्डले सबैभन्दा कम ९.२९ प्रतिशत ब्याज दिने भएका छन् ।

असोज महिनाका लागि ठूला भनिएका नेपाल इन्भेष्टेमन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, नबिल र हिमालयन बैंकले ब्इाजदर बढाएका छन् । त्यस्तै विदेशी स्वामित्वको एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड र नेपाल एसबिआई बैंकले पनि ब्याजदर बढाएका छन् ।

बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) बाबजूद बैंकहरूले अर्को बैंकमा रहेको निक्षेप खोस्न र हाल रहेको मुद्दती परिपक्क भएपछि यी बैंकले ब्याजदर बढाएका हुन् ।

असोजमा हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै १.०६४ बिन्दु ब्याजदर बढाएको छ । भदौमा ९.९९ प्रतिशत रहेको हिमालयनको ब्याजदर असोजमा बढाएर ११.०५४ प्रतिशत पुर्याएको छ । यस्तै, एभरेष्ट बैंकले पनि व्यक्तिगत मुद्दतीको ब्याजदर १.०५४ बिन्दुले बढाएर ११.०५४ प्रतिशत पुर्याएको छ ।

असोजमा व्यक्तिगत निक्षेपमा नबिलले ११.०५४, प्राइम कमर्शियलले ११.३५८, नेपाल एसबीआइले १० र स्ट्याण्डर्ड चार्टर्डले ९.२९ प्रतितश ब्याज दिने भएका छन् ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, र नेपाल बैंकले ब्याजदर घटाएका छन् । जसमध्ये नेपाल बैंकले सबैभन्दा बढी १.६०३ बिन्दुले घटाएको छ ।

असोजका लागि ग्लोबलले ०.३९६ बिन्दुले घटाएर १०ं५, कुमारीले ०.७८६ विन्दुले घटाएर १०.११, सिटिजन्सले ०.८४६ बिन्दुले घटाएर १०.०५, लक्ष्मी सनराइजले ०.४ विन्दुले घटाएर १० प्रतिशत र राष्ट्रिय वाणिज्यले ०.४९ विन्दुले घटाएर ९.५ प्रतिशत कायम गरेका छन् ।

असोजका लागि एनएमबी, प्रभु बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले भने भने भदौकै ब्याजदरलाई यथावत राखेका छन् । जसमा एनएमबी, माछापुच्छे र सिद्धार्थको ९.९९ प्रतिशत र प्रभुको १० प्रतिशत रहेको छ ।

अहिले बैंकिङ प्रणालीमा झन्डै ४ खर्ब बढी निक्षेप थुप्रिएको छ भने कर्जाको माग एकदम न्यून छ । तत्कालै कर्जाको माग बढ्ने पनि देखिँदैन । तर, वाणिज्य बैंकहरूले अस्वस्थ्य प्रतिस्पर्धा गर्दा निक्षेपको ब्याजदर बढाएका हुन् । निक्षेपको ब्याजदर बढ्दा बैंकको लागत बढ्न गई कर्जाको ब्याजदर समेत बढ्न जान्छ ।

भएकै पैसा ऋण लगानी गर्न नसके पनि बैंकहरूले आगामी दिनमा क्रमशः कर्जाको माग बढ्ने र त्यो बेला स्रोत जुटाउन गाह्रो नपरोस भनेर अहिले होडबाजीमा निक्षेपको ब्याजदर बढाई अर्को बैंकमा भएको पैसा तान्न होडबाजी गरेका हुन् ।

टोखा-छहरे सुरुङमार्ग बनाउन चीन सरकार सकारात्मक Read Previous

टोखा-छहरे सुरुङमार्ग बनाउन चीन सरकार सकारात्मक

सिटिजन्स बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा झन्डै आधा घट्यो Read Next

सिटिजन्स बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा झन्डै आधा घट्यो