काठमाडौं । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले दशैंका लागि ३ हजार खसीबोका र च्याङ्ग्रा ल्याउने भएको छ । कम्पनीले यस वर्ष दशैंका लागि २ हजार खसीबोका र १ हजार च्याङ्ग्रा ल्याउने भएको हो ।
कम्पनीकी सूचना अधिकारी सर्मीला न्यौपाने सुवेदीले यस वर्ष दशैंका खसीबोका र च्याङ्ग्रा ल्याउन ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याइएको जानकारी दिइन् ।
‘यस वर्ष दशैंमा २ हजार खसीबोका र १ हजार च्याङग्रा ल्याउने छौँ, घटस्थापनासम्म ल्याएर वितरण सुरु गर्ने छौँ,’ सुवेदीले चाणक्य पोष्टसँग भनिन ‘८ करोड रुपैयाँ खसीबोका र च्याङग्रा ल्याउन छुट्याएका छौँ ।’
उनका अनुसार खसीबोका खरिदका लागि ३ करोड ४२ लाख रुपैयाँ विनियोजन गरिएको छ भने च्याङ्ग्रा खरिदका लागि ४ करोड ९१ लाख रुपैयाँ छुट्याइएको छ । उक्त बजेट आगामी केही दिनमै निकास गर्ने तयारी भइरहेको उनले बताइन् ।
दशैंमा अन्य समयको तुलनामा धेरै मासु खपत हुने गरेको छ । निजी क्षेत्रका व्यापारीले दशैंको मौका छोपी महँगोमा खसीबोका बेच्ने गरेका छन् । त्यसैलाई मध्येनजर गर्दै खाद्य कम्पनीले आम उपभोक्तालाई राहत दिन आफैंले खसीबोका बेच्ने गरेको छ । कम्पनी आफैले किसानबाट किनेर ल्याइ बजार मूल्यभन्दा केही सहुलियतमा बेच्ने गरेको छ ।
दशैँको फूलपातीसम्म सबै खसीबोका ल्याइ बिक्री थालिने उनले बताइन् । खाद्यले यस वर्ष गत वर्षको भन्दा झन्डै १ हजार खसीबोका र च्याङ्ग्रा ल्याउन लागेको छ । गत वर्ष कम्पनीले १ हजार १९४ वटा खसीबोका र १६२ वटा च्याङग्रा खरिद गरी बिक्री गरेको थियो । गत वर्ष कम्पनीले तुलसीपुर र वीरगंजबाट खसीबोका तथा दार्चुलाबाट च्याङग्रा ल्याएको थियो ।
निजी क्षेत्रका व्यपारीले ३५ हजार खसीबोका ल्याउने
यस्तै, यस वर्ष निजी क्षेत्रका व्यापारीले दशैँमा ३५ हजार खसीबोका ल्याउने भएका छन् । मासुको माग धान्न यस वर्ष ३५ हजार खसीबोका काठमाडौं ल्याउने तयारी भइरहेको चौपाया खरिद बिक्री संघले जनाएको छ ।
पशु सेवा विभागका उपत्यकामा वार्षिक ६ लाख खसीबोका चाहिन्छ । मुलुकभर १ करोड १८ लाख खसी बोका उत्पादन हुन्छ । वार्षिक ३० प्रतिशत अर्थात् ३३ लाख कटनीमा जान्छ ।
सहकारी संस्थाले पनि पर्याप्त उत्पादन गरेकाले व्यवसायीले जिल्लामा संकलन गर्नुपर्ने पशु सेवा विभागले जनाएको छ । मुलुकभर रामेछाप, ओखलढुङ्गा, बर्दिया, गुलरिया, सुर्खेत, रुकुम रोल्पा, नुवाकोट, जनकपुर, सल्यान, सुर्खेत, सर्लाही कटहरी, दाङ लगायतका जिल्लाबाट खसीबोका उत्पादन हुने गरेका छन् ।