काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले बहिष्कार गरेका छन् । यसअघि घोराही सिमेन्टको आइपीओ बहिष्कार गरेको दाङ र रोल्पावासीले सोनापुरको आइपीओ पनि नभरेका हुन् ।
कम्पनीले साउन २९ गतेदेखि उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पाका स्थानीय बासिन्दाका लागि अंकित मूल्य १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २२५ रुपैयाँ दरले १५ लाख ३७ हजार ५२५ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । तर, उक्त आइपीओमा आवेदन दिने अन्तिम दिन मंगलबारसम्म ९१ हजार ३९० कित्ता सेयर मात्र बिकेको सीडीएस एण्ड क्लियरिङले जनाएको छ ।
कम्पनीको ५.९४ प्रतिशत सेयर मात्रै स्थानीयले किनेका छन् भने ९४ प्रतिशत सेयर बिक्री हुन सकेन । स्थानीयलाई छुट्याइएको १४ लाख ४६ हजार १३५ कित्ता सेयरमा आवेदन नपरेको सीडीएसको तथ्यांक छ ।
कम्पनीले आइपीओ जारी गर्ने बित्तिकै स्थानीयले बहिष्कार गर्ने घोषणा गरेका थिए । सोही अनुसार अहिले आवेदन नदिएका हुन् ।
कम्पनीले स्थानीयलाई अंकित मूल्यमै सेयर दिनुपर्ने माग गरे पनि कम्पनीले प्रतिकित्ता १२५ प्रिमियम थप गरी महँगोमा सेयर बिकाउन खोजेको भन्दै बहिष्कार गरेका हुन् । यसअघि घोराहीले स्थानीयलाई जारी गरेको ९५ प्रतिशत आइपीओ बिकेको थिएन ।
घट्दो बजारमा वित्तीय अवस्था बलियो भएका कम्पनीको सेयर सोनापुरको मूल्य भन्दा सस्तोमा पाइने भएकाले स्थानीय आकर्षित हुन नसकेको जानकारहरू बताउँछन् । त्यस्तै, स्थानीयलाई सेयरको फाइदा/घाटा बारे जानकारी नहुँदा आवेदन नदिएको हुनसक्ने उनीहरूको भनाइ छ ।
स्थानीयले नकिनेको १४ लाख ४६ हजार १३५ कित्ता सेयर अब कम्पनीले आम सर्वसाधरलाई बिक्री गर्नेछ । सोनापुरको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।
आइपीओ निष्काशनको लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन ट्रिपल बी माइनस इस्यूअर’ रेटिङ दिएको गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।