एप्पलकाे आइफोन १५ सिरिज सार्वजनिक, यस्तो छ मोडल अनुसारको मूल्य

काठमाडौं । एप्पलले आफ्नो बहुप्रतिक्षित आइफोन १५ सिरिज सार्वजनिक गरेको छ । मंगलबार क्यालिफोर्नियास्थित मुख्यालयमा आयोजित एक कार्यक्रमका बीच कम्पनीले आइफोन १५ सिरिजका ४ फोन सार्वजनिक गरेको हो ।

कम्पनीले आइफोन १५ सिरिज अन्तर्गत आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स गरी चार मोडल सार्वजनिक गरेको छ । यी सबै फाने यही शुक्रबार (सेम्टेम्बर १५)देखि प्रि-अर्डर समेत सुरू गरिने एप्पलले जनाएको छ ।

कम्पनीले आइफोन १५ सिरिजसँगै एप्पल वाच अल्ट्रा २ र एप्पल वाच सिरिज ९ पनि सार्वजनिक गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको फानेसहति एयरपड्स प्रो डिभाइसहरूमा यूएसबी–सी चार्जिङ पोर्ट राखेको छ । एप्पलले पहिलोपटक आफ्नो आइफोनमा टाइप सी पोर्ट राखेको छ ।

यस्ता छन् विशेषता

सार्वजनिक गरिएको नयाँ आइफोन १५ सिरिज अन्तर्गतको आइफोन १५ र आइफोन १५ प्लस १२८ जीबी, २५६ जीबी र ५१२ जीबीमा उपलब्ध हुनेछ। आइफोन १५ प्रो यीबाहेक १ टीबी स्टोरेज क्षमता भएको भेरियन्टसम्म उपलब्ध हुनेछ । त्यस्तै, आइफोन १५ प्रो म्याक्स २५६ जीबी स्टोरेज क्षमतादेखि १ टीबी क्षमतासम्मको भेरियन्टमा उपलब्ध हुनेछ ।

आइफोन १५ मा ६.१ इन्चको डिस्प्ले रहेको छ भने आइफोन १५ प्लसमा ६.७ इन्चको डिस्प्ले रहेको छ ।

त्यस्तै, आइफोन १५ प्रो सिरिजमा दुईवटा ह्याण्डसेट आएका छन् र दुवैको आकार फरक-फरक छ । आइफोन १५ प्रो मा ६.१ इन्चको डिस्प्ले रहेको छ भने आइफोन १५ प्रो म्याक्समा ६.७ इन्चको स्क्रीन रहेको छ । दुवै फोनमा १२० हर्जको रिफ्रेस रेट रहेको छ । जुन गेमिङ तथा स्क्रोलिङका लागि निकै उपयोगी हुनेछ ।

आइफोन १५ प्रो सिरिजमा ब्याक प्यानलमा ट्रिपल क्यामरा सेटअप रहेको छ । यसमा प्राइमरी क्यामरा लेन्स ४८ मेगापिक्सेलको रहेको छ । उक्त क्यामरा सेटअपसँगै दोस्रो पुस्ताको सेन्सर सिफ्ट ओआईएस समेत रहेको छ ।

आइफोन १५ मोडेलमा समेत ४८ मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ ।

कुनको मूल्य कति ?

कम्पनीले आइफोन १५ को सुरुआती मूल्य ७९९ अमेरिकी डलर तोकेको छ । त्यसैगरी, आइफोन १५ प्लसको सुरुआती मूल्य भने ८९९, आइफोन १५ प्रोको ९९९ र आइफोन १५ प्रो म्याक्सको मूल्य १,१९९ डलर तोकिएको छ।

आइफोन १५ सिरिजका मोबाइलहरु विभिन्न ५ वटा रङमा उपलब्ध हुनेछ ।

नयाँ फोन सार्वजनिकसँगै एप्पले केही नयाँ घोषणा गरेको छ । कम्पनीले नाइकी ब्रान्डसँग सहकहार्य गरिरहेको घोषणा गरेको छ।

त्यस्तै, कम्पनीले भविष्यमा आफ्नो उत्पादनहरूमा कुनै पनि छालाजन्य पदार्थ प्रयोग नगर्ने बताएको भने सन् २०३० सम्ममा नेट शून्य कार्बन उत्पादन गर्ने योजना बनाएको छ। कम्पनीले वाच सिरिज ९ मा पनि रिसाइकल धातुहरू प्रयोग गरेको बताएको छ ।

सीआइबीले सुन काण्डको अनुसन्धान प्रतिवेदन आज बुझाउँदै Read Previous

सीआइबीले सुन काण्डको अनुसन्धान प्रतिवेदन आज बुझाउँदै

सोनापुर मिनरल्सको आइपीओ बहिष्कार, ९४ प्रतिशत बिकेन Read Next

सोनापुर मिनरल्सको आइपीओ बहिष्कार, ९४ प्रतिशत बिकेन