इस्लामावाद । पाकिस्तानको राष्ट्रिय ध्वजावाहक पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) चरम आर्थिक अभावबाट गुज्रिएको छ ।
विमान कम्पनीले २० अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी रहेकाले उसले १५ वटा विमान नउडाउने जोखिम बढेको जियो न्यूजले जनाएको छ ।यदि विमानहरु ‘ग्राउन्डेड’ भएमा ३० भन्दा बढी उडान स्थगित हुनेछन् जसले आम्दानी स्रोत घट्दा आर्थिक संकटलाई बढाउने छ ।
इन्धन, फेडरल एक्साइज ड्युटी र ‘लिज’ (भाडा) रकम भुक्तानी समयमै नहुँदा १५ वटा विमान ग्राउन्डेड हुनसक्ने बाध्यात्मक परिस्थिति नआओस् भन्ने कामना सम्बद्ध अधिकारीहरुले गरेका छन् ।
नागरिक उड्डयन मन्त्रालयले पीआईएको पुनसंरचना गर्नु अति जटिल प्रक्रिया भएको उल्लेख गर्दै त्यस गर्न एक वर्ष लाग्ने बताएको छ तर, यो अवधिमा राष्ट्रिय ध्वजावाहकलाई सञ्चालन गर्नैपर्ने आवश्यकता रहेको जिओ न्यूजले जनाएको छ ।
गत साता सरकारको सहयोगमा ब्यांकहरुले पीआईएलाई रकम उपलव्ध गराएपछि आफ्ना वित्तीय चुनौतिबाट क्षणिक राहत महसुस गरेको पिआईए पुनः समस्यामा परेको छ । यद्यपि प्राप्त रकम विमान र इन्जिन भाडाको लामो समयदेखिको बक्यौता, विदेशी विमानस्थलमा भएको खर्चको भुक्तानीहरु तिर्न प्रयोग गरिने जनाइएको छ ।
यसअघि पीआईएले भाडामा लिएका १३ वटा विमानमध्ये पाँच वटा ग्राउन्डेड गरेको थियो । पीआईएले करिब २३ अर्ब रुपैयाँ उपलब्ध गराउन सरकारसँग माग गरेको छ । तर आर्थिक समन्वय समितिले त्यसलाई अस्वीकार गरेको थियो । गत जुलाईमा सङ्घीय राजस्व बोर्डले दुई अर्ब रुपैयाँभन्दा बढी कर नतिरेको भन्दै राष्ट्रिय ध्वजावाहकको खाता रोक्का गरेको थियो । एजेन्सी