काठमाडौं । चाडवाडको मुखैमा बजारमा चिनीको अभाव भएको छ । तीज, दशैं, तिहार लगायत ठूला चाडवाड नजिकिएकाले झन् धेरै खपत हुने बेलामै बजारमा चिनीको अभाव भएको हो ।
बानेश्वरस्थित श्रेष्ठ स्टोरका सञ्चालक रबी श्रेष्ठले हाल आफ्नो पसलमा चिनी नभएको बताए । ‘अहिले गोदाममै चिनी सकिएको भन्दै होलसेल व्यापारीले चिनी दिएका छैनन्,’ उनले भने, ‘होलसेलबाटै चिनी नआएपछि हामी कहाँ हुने कुरै भएन ।’
यस्तै, कालोपुलस्थित नारायण स्टोरका सञ्चालक हरि प्याकुरेलले आफूले ३/४ दिन यता चिनी बेच्न नपाएको बताए । ‘गोदाममा भएको चिनी सकियो, नयाँ अर्डर गरेको चिनी आएको छैन । होलसेलरले चिनी सकिएको भन्दै पठाएका छैनन्,’ उनले भने । चिनी नआउँदा नियमित ग्राहकलाई समेत रित्तै फर्काउनु परेको उनले बताए ।
यी केही उदाहरण मात्र हुन । अहिले अधिकांश खुद्रा पसलमा चिनी पाइँदैन । होलसेल व्यापारीहरूले चिनी नपठाएकाले आफूहरूले बेच्न नपाएको उनीहरूको भनाइ छ ।
स्वदेशी उद्योगले उत्पादन गरेको चिनी सकिएको र विदेशबाट आयात नहुँदा बजारमा चिनीको अभाव भएको व्यापारीहरूले बताएका छन् । साथै, चाडवाडको बेलामा भाउ बढाउन केही व्यापारीले चिनी लुकाउँदा बजारमा अभाव भएको उपभोक्ताहरूको भनाइ छ ।
एकातिर बजारमा चिनी अभाव भएको छ भने अर्कोतर्फ मूल्य वृद्धि हुँदा उपभोक्ता मारमा परेका छन् । एक महिना अघि प्रतिकिलो ९५ रुपैयाँ रहेको चिनीको खुद्रा मूल्य अहिले ११० रुपैयाँसम्म पुगेका छ ।
सरकारसँग छैन स्टक
बजारमा चिनीको अभाव हुँदा सरकारसँग पनि मौज्दात रहेको छैन । चिनी बेच्ने दुवै सरकारी निकाय साल्ट ट्रेडिङ र खाद्य व्यापार कम्पनीले आफूसँग चिनीको मौज्दात नभएको जनाएका छन् ।
साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले हाल डेढ टन माज्ञ चिनी मौज्दात रहेको जानकारी दिए । साल्ट ट्रेडिङले चिनी आयात गर्न विगत ३ वर्षदेखि अनुमति मागे पनि अहिलेसम्म नपाएको उनले बताए ।
उनले हालै मात्र २ महिना अगाडि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निवेदन पठाएको बताए । उनका अनुसार उद्योग मन्त्रालयले बजेट सुनिश्चिताका लागि अर्थमन्त्रालयमा उक्त निवेदन पठाएको छ ।
उनले ५० हजार टन चिनी ल्याउन माग गर्दै मन्त्रालयमा निवेदन पठाएको बताए । ‘चिनी अहिले हामीसँग छैन, खुद्रा बजारबाट थोरै बेचिरहेका छौँ,’ प्रवक्ता राजभण्डारीले चाणक्य पोष्टसँग भने ‘३ वर्षदेखि हामीले चिनी ल्याउने अनुमति पाएका छैनौँ, यो पटक पनि माग गरेका छौँ, बजेट आएको छैन ।’
यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आफूसँग चिनीको मौज्दात नभएको बताएको छ । विगतमा ल्याएको चिनी बेचिसकेको र थप चिनी ल्याउन ठेक्का लगाउन नसकिएको सूचना अधिकारी सर्मीला न्यौपाने सुवेदीले बताइन् ।
उनले वार्षिक कार्यक्रममा ५० हजार टन चिनी ल्याउने वार्षिक कार्यक्रम स्वीकृत भए पनि हालसम्म ठेक्का प्रकृया समेत अघि बढ्न नसकेको बताइन् ।
‘दशैँ तिहारका लागि चिनी ल्याउन हालै वार्षिक कार्यक्रम स्वीकृत भएको छ, असार मसान्तसम्ममा यो स्वीकृत हुनु पर्ने हो तर, यो वर्ष अलि ढिला भएको छ,’ उनले भनिन् ।
देशभर वार्षिक २ लाख ६५ हजार मेट्रिक टनदेखि ३ लाख टन चिनी माग हुँदै आएको छ । सो मध्ये १ लाख मेट्रिक टन चिनी नेपाल उत्पादन हुने गरेको छ । बाँकी चिनी आयातमा निर्भर रहेको छ ।
२० हजार टन ल्याउन अनुमति
यसैबीच, सरकारले २० हजार मेट्रिकटन चिनी आयात गर्न अनुमति दिएको छ । सरकारले चाडबाडलाई लक्षित गर्दै ५० प्रतिशत भन्सार छुटमा २० हजार टन चिनी आयात गर्न सोमबार स्वीकृति दिएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६० हजार मेट्रिक टन चिनी आयात गर्न प्रस्ताव गरेकोमा अर्थ मन्त्रालयले २० हजार टनको मात्र स्वीकृति दिएको हो ।
अर्थले साल्ट ट्रेडिङ कर्पोरेसनलाई १० हजार टन र खाद्य व्यवस्था कम्पनीलाई १० हजार टन आयात गर्न अनुमति दिएको हो ।