घरजग्गा कर्जामा देखिएन नीतिगत कडाइको असर, ऋण लगानी २४ प्रतिशत बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकको नीतिगत कडाइका बाबजूद घरजग्गा क्षेत्रमा कर्जा लगानी बढेको देखिएको छ । अनुत्पादक क्षेत्र भन्दै राष्ट्र बैंकले घरजग्गा व्यवसायमा कर्जा लगानीमा कडाइ गरे पनि ऋण लगानी उल्टो बढेको हो ।

घरजग्गामा जाने कर्जा नियन्त्रण गर्न राष्ट्र बैंकले २०७८ फागुनमा जोखिमभार १०० प्रतिशतबाट बढाएर १५० प्रतिशत पुर्याएको थियो । त्यस्तै, २०७९ साउनमा घरजग्गा धितोमा पाइने प्रवाह हुने निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालुबीचको अनुपात घटाएको थियो ।

राष्ट्र बैंकले घरजग्गा धितोमा प्रवाह हुने फेयर मार्केट भ्यालु काठमाडौं उपत्यकामा ४० बाट ३० प्रतिशत र उपत्यका बाहिर ५० प्रतिशतबाट ४० प्रतिशतमा झारेको थियो । राष्ट्र बैंकका यी नीतिगत कडाइका बाबजूद यस क्षेत्रमा कर्जा लगानी भने बढेको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्ला दुई वर्षमा घरजग्गा ( व्यक्तिगत आवासीय र रियल स्टेट) क्षेत्रमा प्रवाह हुने कर्जा २४.१८ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ सम्म रियल स्टेट र व्यक्तिगत घर कर्जा गरेर बैंक तथा वित्तीय संस्थाले कुल ४ खर्ब ८१ अर्ब रुपैयाँ ऋण लगानी गरेकोमा पछिल्ला दुई वर्षमा बढेर ५ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको हो ।

गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत आवासमा ३ खर्ब ४८ अर्ब रुपैयाँ र रियल स्टेटमा २ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । संस्थाहरूले लगानी गरेको कुल कर्जा मध्ये घरजग्गा क्षेत्रको यो हिस्सा १२.२६ प्रतिशत रहेको हो ।

२०७६/७७ यता घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कुल ऋण लगानी ४३.८१ प्रतिशतले बढेको छ । यस अवधिसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल ४८ खर्ब ४९ अर्ब रुपैयाँ ऋण लगानी गरिसकेका छन् ।

अर्थतन्त्रमा देखिएको संकट, घरजग्गा व्यवसायमा आएको गिरावट, बैंक तथा वित्तीय संस्थाको कमजोर ऋण प्रवाहका बीच यस क्षेत्रमा भने कर्जा लगानी बढेको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गर्न नीतिगत कडाइ गरे पनि ऋण लगानी घट्नुको साटो बढ्दै गएको तथ्यांकले देखाउँछ ।

अघिल्लो वर्षदेखि राष्ट्र बैंकले वित्तीय प्रणालीमा तरलता संकट बढ्दै गएपछि सेयर धितो, सवारी साधन कर्जा र रियल स्टेट कर्जाको नीतिगत कडाइ गरेको थियो । उक्त नीतिले सेयर धितो, सवारी कर्जा घटे पनि घरजग्गा क्षेत्रमा बैंकहरूले लगानी गरेको ऋण रकम भने बढ्दो क्रममै रहेको देखिएको छ ।

आर्थिक शिथिलताका कारण गत वर्ष बैंक तथा वित्तीय संस्थाहरूको समग्र कर्जा लगानीमा गिरावट आएको थियो । तर, रियल स्टेट सेक्टरको ऋण लगानीमा भने असर नपरेको तथ्यांकले देखाएको छ ।

आर्थिक मन्दीका कारण उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी हुन सकेको छैन । अन्य क्षेत्रको तुलनामा घरजग्गामा गरिने लगानी तुलनात्मक रुपमा सुरक्षित हुने भएकाले मन्दीका बीच कर्जा लगानी बढेको बैंकरहरू बताउँछन् ।

यद्यपि, चालु वर्षदेखि राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जा लगानीमा केही लचकता अपनाएको छ । चालु आवको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले व्यक्तिगत आवास कर्जाको सीमा बढाएर २ करोड रुपैयाँसम्म कायम गरिएको छ भने जोखिमभारमा पनि पुनरावलोकन गरेको छ ।

कर्जा लगानीको यही कडाइ नीतिले अर्थतन्त्रका विभिन्न क्षेत्रमा सुस्तता आएको भन्दै निजी क्षेत्रका व्यवसायीले खुकुलो गर्नुपर्ने माग राखिरहेका छन् । अहिले पनि बजारमा कर्जाको माग बढेको छैन । सोही कारण बैंकहरूले थप लगानी बढाउन कसेका छैनन् ।

अर्कोतिर घरजग्गा क्षेत्रको कर्जा लगानीमा राष्ट्र बैंकको पछिल्ला नीतिगत कदमहरूले आगामी दिनमा थप कर्जा लगानी बढ्ने देखाउँछ ।

 

टिकेन नेप्सेको सुधार, दोहोरो अंकको गिरावट Read Previous

टिकेन नेप्सेको सुधार, दोहोरो अंकको गिरावट

असोज १५ गतेदेखि अनलाइनबाटै कम्पनी दर्ता गर्न सकिने Read Next

असोज १५ गतेदेखि अनलाइनबाटै कम्पनी दर्ता गर्न सकिने