काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस साता सुरुका दुई दिनमा ५५ अंकले बढेको नेप्से आज १९ अंकले घटेको हो ।
नेपाल राष्ट्र बैंकले साउन दोस्रो साता मौद्रिक नीति जारी गरेपछि मात्रै नेप्से ३०० अंकले घटिसकेको छ । घट्दो बजारमा दुई दिन बढ्ने बित्तिकै लगानीकर्ता सेयर बेच्न हतारिँदा नेप्सेमा गिरावट आएको हाे ।
सूचकसँगै आज कारोबार रकममा पनि गिरावट भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३८ करोडले घटेर १ अर्ब १३ करोड रुपैयाँमा सीमित भएको छ ।
मंगलबार नेप्से परिसूचक १९.४२ अंकले घटेर १९६७.५७ विन्दुमा आइपुगेको छ । यसदिन २७६ कम्पनीको ३९ लाख १६ हजार १६१ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये म्युचुअल फण्ड बाहेक अरु सबैको परिसूचक राताम्मे भएको छ । होटल उपसमूहको परिसूचक सबैभन्दा धेरै १.९८ प्रतिशतले घटेको छ ।
आज नेपाल एसबीआइ बैंकको सर्वाधिक कारोबार भएको छ । यसको साढे ७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
दोहोरो अंकले बढेको घटेको बजारमा आज शुभव पावरका सेयरधनीले सर्वाधिक १० प्रतिशत कमाएका छन् भने थ्रीस्टार हाइड्रोपावरका सेयरधनीले १० प्रतिशत गुमाएका छन् ।