काठमाडौं । चाडपर्वको सिजन सुरू भए पनि यस वर्ष व्यापारिक केन्द्रहरूमा भने चहलपलल न्यून छ । हरितालिका तीज, दशैं, तिहार लगायत ठूला चाडपर्व नजिकिए पनि काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरू न्यूरोड, असन, महाबौद्ध, ठमेल लगायत क्षेत्र सुनसान देखिन्छन् ।
विगतमा मुख्य चाडपर्व सुरू हुनु एक/डेढ महिना अघिदेखि बजारमा उपभोक्ताको चहलपहल सुरू हुने गर्थ्यो । तर, यस वर्ष बजारमा कुनै रौनक नदेखिएको व्यापारीहरू बताउँछन् । बजारमा उपभोग्य वस्तुको माग नबढ्दा अधिकांश होलसेल व्यपारीहरूले समेत दशैं, तिहार लगायत चाडपर्वलाई लक्षित गरेर सामान ल्याउन एलसी खोलेको छैनन् भने नयाँ सामान ल्याउने आँट पनि गरेका छैनन् ।
चाडपर्वको बेला मानिसको चहलपहल र अत्याधिक व्यापार हुने विगत सम्झिँदै यस वर्ष सुनसान देखेर व्यापारीहरू अचम्मित भएका छन् । यस वर्ष कोरोनाकालमा भन्दा पनि सुनसान रहेको उनीहरूको भनाइ छ ।
विगतका वर्षहरूमा साउनदेखि नै व्यापारको चहलपहल हुने गरेको भए पनि यस वर्ष असोज लाग्नै लाग्दा समेत छनक नदेखिएको बताउँछन् न्यूरोड गेट नजिकै २४ वर्षदेखि व्यापार गर्दै आएका हरिमान डंगोल ।
‘मैले थाहा पाएयता यस्तो अवस्था कहिलै देखेको थिएन्,’ उनी भन्छन्, ‘कोभिडमा समेत केही समय सटर बन्द गरेर पछि पूरा नै तरिकाले सबैले व्यापार व्यवसाय चलाएका थिए । अहिले त्यो अवस्था छैन ।’
सडकका पेटीमा देखिने खुद्रा व्यापारमा गिरावट आएसँगै सटरहरू पनि खाली भएको र उनीहरूको व्यापारमा पनि फरक परेको उनको बुझाइ छ ।
यसैगरी, दुई दशकदेखि महाबौद्धमा खुद्रा पसल चलाउँदै आएका विकास श्रेष्ठ यस वर्ष व्यापारमा निकै गिरावट आएको बताउँछन् । ‘मान्छेले पहिले जस्तो सामान किन्नै छोडेको देखिन्छ । पुरानै सामान पनि गएको छैन । त्यही भएर अहिले नै थप सामान मगाउने मोडमा छैन,’ उनले भने ।
यी प्रतिनिधि घटना मात्रै हुन् । शहरका मुख्य व्यापारिक तथा व्यस्त क्षेत्र समेत गत वर्षदेखि सुनसान छन् । अर्थतन्त्रमा देखिएको संकटको असर साना तथा मझौला व्यवसायमा पनि देखिएको व्यवसायीहरू बताउँछन् ।
राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्की उच्च महंगीका कारण सामान्य स्टार्टअप गर्न चाहने मान्छेले सटर भाडामा लिएर व्यापार व्यवसाय गर्न नसक्ने अवस्था आएको बताउँछन् ।
‘साना तथा मझौला उद्यम व्यवसायको अवस्था कमजोर छ । मान्छेसँगै खर्च गर्न सक्ने पैसा छैन । भाउ पनि आकाशिएको छ,’ उनले भने, ‘भाडा चर्को छ । व्यापार हुँदैन । त्यो ठाउँमा व्यापार गरेको पैसाले भाडा तिर्नसम्म पुग्दैन । अनि कसले गर्छ व्यवसाय ?’
यही अवस्था रहे दशैंपछि धेरै व्यापारी व्यवसायी बन्द गरेर हिँड्ने उनी बताउँछन् । कार्की महंगो भन्सारका कारण सामानको मूल्य दोब्बर भएको दाबी गर्छन् ।
अत्याधिक मूल्यवृद्धिले उपभोक्ताको खर्च गर्नसक्ने क्षमतामा गिरावट आएको र यसले बजारमा माग र आपूर्ति चक्र खल्बलिएको अर्थविद्हरू बताउँछन् । उपभोग्य वस्तु धेरै खपत गर्ने युवा पुस्ता विदेशिँदाको पनि असर व्यापारमा देखिएको उनीहरू बताउँछन् । यसका साथै, सडक व्यापारलाई महानगरपालिकाले निषेध गर्दा त्यसको रिफ्लेक्सन समग्र मझौला तथा साना व्यवसायमा देखिएको उनीहरूको मत छ ।
जसको असर एकातिर निम्न मध्यम वर्गीय परिवारमा परेको छ भने अर्कोतिर नयाँ व्यापार व्यवसाय सुरू हुन सकेका छैनन् । एकातिर भएकै पसलमा व्यापार छैन भने अर्कोतर्फ व्यापारी पलायन हुने क्रम बढ्दो छ । गत वर्षसम्म न्यूरोड, असन, महाबौद्ध लगायत मुख्य व्यापारिक ठाउँहरूमा सटर पाउनै मुस्किल हुनेमा यस वर्ष जताततै खाली सटरका सूचनाहरू छन् ।
मन्दीको असर देखियो
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक कुमार श्रेष्ठ व्यापारको राम्रो चहलपहल हुने चाडवार्डको समयमा पनि आर्थिक मन्दीले असर गरेको बताउँछन् ।
‘बजारमा मन्दी जस्तै छ । माग बढ्न नसक्दा व्यापार हुन नसकेको व्यापारीहरूको पनि गुनासो छ । वर्षमा एक चोटी विशेषगरी व्यापारका लागि उनीहरूले हेर्ने हो । त्यसमा पनि व्यापार अनहुँदा समस्या हुने नै भयो,’ उनी भन्छन् ।
विगतमा जस्तो विदेशबाट सामान भित्र्याउन यो वर्ष अवरोध नरहेको बताउँछन् । ‘यो पाली चिनियाँ नाकाबाट सामान भित्र्याउन सहजै छ । विगतमा जस्तो अवरोध छैन,’ उनले भने, ‘महंगो भाडा, गाडी नपाइने भन्ने छैन । यो वर्ष बाटो र सवारी साधनले पनि साथ दिएको छ ।’
यो वर्ष व्यापारीले चाडवार्डको अवधिमा समयमै सामान नपाएर अप्ठेरो भोग्नुपर्ने अवस्था नरहेको उनले बताए । अध्यक्ष कार्की विगतमा जस्तो यो वर्ष चाडवार्ड नजिकिए पनि सामानको माग नभएको र चीनबाट भित्रिए पनि उपभोक्ताले खरिद नगर्दा बिक्री हुने अवस्था नरहेको बताउँछन् ।