काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजार घट्ने क्रम अझै रोकिएको छैन । यो साता आइतबारदेखि निरन्तर घटेको बजारले आजपनि उही लय समातेको छ ।
सूचक करिब ८ अंकले घटेपनि कारोबार रकममा भने खासै गिरावट आएन । आज करिब ३० करोडको कारोबार भएको छ भने तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
आज सेयर बजार मापक सूचक नेप्से ७.७४ अंकले घटेर ११२०.६० विन्दुमा आइपुगेको छ । आज १६७ कम्पनीको २९ करोड ७७ लाख ९७ हजार ७१ रुपैयाँ बराबरको कारोबार भएको छ । १० लाख ५० हजार ४१२ कित्ता सेयर किन बेच भएका छन् ।
कारोबार भएका १२ वटा समूहमध्ये तीन समूहको सूचक उकालो लागेका छन् भने बाँकी नौ समूहका सूचक ओरालो लागेका छन् । आज व्यापार समूहको सूचक सबैभन्दा धेरै ३६.१६ अंकले बढेको छ भने उत्पादनमूलक समूहको सूचक सबैभन्दा धेरै ३२.४७ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा एनएमबी बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको ४ करोड ३० लाख ६७ हजार ६५४ रुपैयाँको कारोबार भएको छ ।
कारोबारकै आधारमा नेपाल बैंक र एनआसी एशिया बैंकको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । नेपालको २ करोड ५ लाख र एनआइसीको १ करोड २८ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।
आज पनि साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल हाइड्रो डेभ्लपर र घोडाघोडी लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । आज जनउत्थान सामुदायीक लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ८.२० प्रतिशतले घटेको छ ।