प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको पैसा तिर्न ताकेता गरेपछि व्यवसायीले गुहारे प्रधानमन्त्री

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइन प्रयोग गरेबापतको बाँकी बक्यौता तिर्न ताकेता गरेपछि उद्योगी, व्यवसायी प्रधानमन्त्रीलाई गुर्हान पुगेका छन् ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासंघ पदाधिकारीसहितको टोली प्रधानमन्त्री भेट्न बालुवाटार पुगेको हो ।

व्यवसायीसँगको भेटपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डेडिकेटेड फिडर र ट्रंक लाइनको महशुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भैरहेको र यसबारे निर्क्यौल नभएसम्म उद्योगहरुको विद्युत आपूर्ति बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी उक्त निर्देशन दिएका हुन् ।

उनले यससम्बन्धी विषयमा महासंघ, विद्युत नियमन आयोग र प्राधिकरणलाई सँगै राखेर छिटै टुङ्गोमा पुर्याउने कुरामा आफूले पहल गर्ने पनि बताए ।

नेपाल विद्युत प्राधिकरणले उद्योगहरुलाई डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता महशुल १५ दिनभित्र चुक्ता गर्न भदौ १७ गते सूचना जारी गरेको थियो । उक्त सूचनामा बक्यौता महशुल चुक्ता नगर्ने उद्योगहरुको विद्युत आपूर्ति बन्द गर्ने जनाएको थियो ।

महासंघले अहिलेको आर्थिक संकटको समयमा उद्योग व्यवसायहरु ४० प्रतिशत भन्दा कम क्षमतामा सञ्चालन भैरहेको हुँदा उद्योग व्यवसायलाई जोगाउन विशेष पहल गर्नुपर्ने सुझाव पनि प्रधानमन्त्री दाहाललाई दिएको छ ।‘अहिलेको बेला हामीलाई सहयोग र समर्थन चाहिएको छ,’ महासंघ अध्यक्ष ढकालले भने, ‘थप समस्या सिर्जना गरिदिनु भएन ।’

कोभिड महामारीपछि उद्योग व्यवसाय निरन्तर संकटमा रहेको र यस अवस्थामा उद्योग व्यवसायको विद्युत काट्दा व्यवसायी थप हतोत्सायी हुने महासंघको धारणा छ ।

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन गन्तव्य मुलुकका राजदूतहरूसँग प्रधानमन्त्रीको छलफल Read Previous

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन गन्तव्य मुलुकका राजदूतहरूसँग प्रधानमन्त्रीको छलफल

टाटाका रिटेलर्सलाई नबिल बैंकले बिना धितो ऋण दिने Read Next

टाटाका रिटेलर्सलाई नबिल बैंकले बिना धितो ऋण दिने