काठमाडौं । एकैपटक चार हाइड्रोपावर कम्पनीले हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । आँखुखोला जलविद्युत्, लिबर्टी इनर्जी, ङादी ग्रुप पावर र बरुण हाइड्रोपावरले हकप्रद सेयर जारी गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् ।
आँखुखोला जलविद्युत कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत अर्थात् १ः१.५ अनुपातमा हकप्रद जारी गर्न अनुमति मागेको हो ।
आँखुखोलाले प्रतिकित्ता १०० रुपैयाँँ दरले १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न माग गरेको हो । हाल ८० करोड चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि २ अर्ब रुपैयाँ पुग्नेछ ।
त्यसैगरी, लिबर्टी इनर्जीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति मागेको हो । लिवर्टीले प्रतिकित्ता १०० रुपैयाँँ दरले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल १ अर्ब ७५ करोड चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।
त्यस्तै, ङादी ग्रुप पावरले चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति मागेको हो । ङादीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७९० कित्ता सेयर जारी गर्ने भएको हो । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ ।
त्यसैगरी, बरुण हाइड्रोपावर लिमिटेले पनि चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।
हाल ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।
अब बोर्डले स्वीकृति दिएपछि यी कम्पनीको हकप्रद सेयर निष्काशन प्रक्रिया अघि बढ्ने छ ।