लघु बीमा व्यवसायमा छैन आकर्षण, नयाँ कम्पनी थपिँदा व्यवसाय झन् घट्यो

काठमाडौं । लघु बीमा व्यवसायमा बीमितको आकर्षण घट्दो क्रममा देखिएको छ । नियामक निकाय बीमा प्राधिकरणले बीमाको पहुँच वृद्धि गर्न लघु बीमा कम्पनीको संख्या बढाए पनि व्यवसायिक आकार भने घटेको हो ।

प्राधिकरणले गत वर्ष जीवन र निर्जीवनतर्फ गरी कुल ७ वटा लघुबीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । जीवन लघुबीमाको हिस्सा यथावत रहे पनि निर्जीवन लघु बीमा व्यवसायप्रति भने आकर्षण नदेखिएको तथ्यांकले देखाएको छ ।

प्राधिकरणको तथ्यांक अनुसार साउनमा निर्जीवन बीमा र लघु बीमा कम्पनीहरूले लघुबीमा बापत जम्मा २९ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा आधाभन्दा धेरैले कम हो । अघिल्लो वर्षको साउनमा बीमा कम्पनीहरूले लघुबीमाबापत ६३ लाख प्रिमियम संकलन गरेका थिए ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेल अब लघु बीमा कम्पनीले व्यवसाय सुरू गरिसकेकाले पहुँच बढ्ने दाबी गर्छन् ।

‘ठूला बीमा कम्पनीहरूले लघु बीमा गर्न सकेका थिएनन् । उनीहरू मुख्य व्यवसायमै केन्द्रित हुँदा लघु बीमालाई ध्यान दिएका थिएनन्,’ उनले भने, ‘अब माइक्रो इन्स्योरेन्स कम्पनीहरूले व्यवसाय सुरू गरिसकेका छन् । प्रदेश र ग्रामिण क्षेत्रमा गएर उनीहरूले काम गर्दा लघु बीमा व्यवसायको पहुँच बढ्छ ।’

ठूला बीमा कम्पनीहरू सहरी क्षेत्रमा केन्द्रित हुँदा ग्रामिण ठाउँमा बीमाको पहुँच बढ्न नसकेको र लघु बीमा व्यवसाय पनि फस्टाउन नसकेको उनले बताए ।

नेपाल बीमा प्राधिकरणले लघुबीमाको पहुँच वृद्धि गर्न भन्दै गत वर्ष सोही व्यवसाय गर्ने प्रयोजनको लागि सात लघुबीमा कम्पनीलाई लाइसेन्स वितरण गरेको थियो । यी कम्पनीहरूको कार्यालय नै प्रदेशमा हुने र सोही क्षेत्रमा गएर काम गर्नुपर्ने मापदण्ड प्राधिकरणले तोकेको छ ।

प्राधिकरणले ग्रामीण क्षेत्रमा स–सानो विपत्ति र नोक्सानीको जोखिमलाई समेत व्यवस्थित गरेर घरेलु तथा सानो व्यवसाय सुरक्षणका लागि लघु बीमा कम्पनीको आवश्यकता भएको भन्दै अध्ययन गरेको थियो ।

सोही आधारमा चारवटा जीवन र तीन निर्जीवन लघुबीमा कमपनीलाई लाइसेन्स वितरण गरिएको थियो । अहिले ति कम्पनी मध्ये दुई जीवन र दुई निर्जीवन लघुबीमाले व्यवसाय थालिसकेका छन् ।

तर, कम्पनीको संख्या वृद्धि हुँदा लघु बीमाको व्यवसायीक आकार र पहुँच बढ्नुपर्नेमा उल्टै खुम्चिएको छ । पूरा व्यवसाय गर्दै आएका ठूला बीमक कम्पनीहरूले समेत लघु बीमा व्यवसाय गर्दै आएका छन् ।

लघुबीमाको पहुँच र व्यवसायीक अवस्था भने प्राधिकरणको सोच र नीतिभन्दा उल्टो देखिएको छ । छुट्टै माइक्रोइन्स्योरेन्स कम्पनी स्थापना गरेर व्यवसाय गर्न दिए थप प्रभावकारी हुन्छ भन्ने नियामकको निष्कर्ष असफल देखिएको तथ्यांकले देखाउँछ ।

नगन्य हिस्सा

कुल निर्जीवन बीमा व्यवसायमा निर्जीवन लघु बीमा कम्पनीको हिस्सा नगन्य रहेको छ । बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको साउनमा ०.०७३ प्रतिशत हिस्सा निर्जीवन बीमामा लघु बीमाको रहेको छ ।

आर्थिक वर्षको पहिलो महिनामा १४ निर्जीवन र २ निर्जीवन लघुबीमा कम्पनीले २९ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । यो महिना कम्पनीहरूले २ हजार १५ लघुबीमालेख जारी गरेका थिए ।

गत आर्थिक वर्षको तुलनामा यो वर्ष ३३.७९ लाख रुपैयाँले बीमा शुल्क र ९ सयले बीमालेखमा गिरावट आएको छ । समीक्षा अवधिमा कम्पनीहरूले ६३ लाख प्रिमियम संकलन गर्दा २ हजार ९०९ बीमालेख जारी भएको प्राधिकरणले जनाएको छ ।

साउनमा निर्जीवन बीमा कम्पनीहरूले कुल प्रिमियम ३ अर्ब ९८ करोड रुपैयाँ संकलन गरेका थिए । लघु जीवन बीमा व्यवसाय पनि बढ्न नसकेको तथ्यांकले देखाउँछ । गत वर्षको साउनमा १३ करोड रुपैयाँ बराबरको व्यवसाय गरेका कम्पनीले चालु वर्षको साउनमा पनि त्यत्ति नै रकम संकलन गरेका छन् ।

 

घोषणा भएको २८ वर्षपछि दैजी छेला औद्योगिक क्षेत्रको काम अघि बढ्दै, लगत सङ्कलन सुरू Read Previous

घोषणा भएको २८ वर्षपछि दैजी छेला औद्योगिक क्षेत्रको काम अघि बढ्दै, लगत सङ्कलन सुरू

भाटभटेनीका संचालक मीनबहादुरलाई साढे २ करोड धराैटीमा छाड्न आदेश Read Next

भाटभटेनीका संचालक मीनबहादुरलाई साढे २ करोड धराैटीमा छाड्न आदेश