काठमाडौं । अमेरिकी डलरको मूल्यले हालसम्मकै महँगोको रेकर्ड बनाएको छ । पछिल्लो समय लगातार आकाशिँदै गएको डलरको मूल्यले अहिलेसम्मकै महँगोको रेकर्ड बनाएको हो ।
नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ४४ पैसा तोकेको छ । यो नेपाली मुद्रामा हालसम्मकै उच्च हो । यसअघि गत भदौ १ गते एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा पुगेको थियो ।
राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर भने १३२ रुपैयाँ ८४ रुपैयाँ तोकेको छ ।विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो ।
नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमयदर रहेको र अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको छ ।
पछिल्लो समय अमेरिकी डलरको मूल्यमा लगातार वृिद्ध हुँदा विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा सकारात्मक प्रभाव रहन्छ । तर, नेपालको अर्थतन्त्रमा अमेरिकी डलर बलियो बन्दा त्यसको प्रभाव नकारात्मकसमेत पर्ने जानकारहरु बताउँछन् ।
नेपालको वैदेशिक व्यापार स्थिति निर्यातका तुलनामा आयात उच्च रहने भएकाले त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ । यसले शोधनान्तरस्थिति र विदेशी मुद्रा सञ्चितिमासमेत असर पार्छ । त्यस्तै डलरको भाउ बढ्ने वित्तिकै आयातीत बस्तु, इन्धनलगायतको मूल्य बढ्ने, विदेशी ऋणको सावाँ र ब्याजको परिणाम डलरको मूल्यसँगै बढ्ने हुन्छ ।