काठमाडौं । चौधरी ग्रुप र भारतको प्रतिष्ठित व्यवसायिक घराना अदानी ग्रुप बीच रणनीतिक साझेदारी गर्ने सम्झौता भएको छ । दुई व्यवसायिक घराना बीच सिमेन्ट व्यवसायमा सहकार्य गर्ने सहमति भएको हो ।
नेपाल र भारत बीचको गहिरो सम्बन्धलाई अझै सुदृढ गर्दै लैजाने उद्देश्यले दुई देशका प्रतिष्ठित व्यवसायिक घरानाले सिमेन्ट विजनेशमा नयाँ अध्याय शुरू गरेका हुन् । नेपालसँग जोडिएका छिमेकी भारतीय राज्यहरूमा सिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले यो सम्झौता गरिएको चौधरी ग्रुपले जनाएको छ ।
यस सहमतिले चौधरी ग्रुप र अदानी ग्रुपको सिमेन्ट व्यवसायमा रहेको साझा दृष्टिकोणलाई दर्शाउँदै दुवै व्यापारिक समूहहरू सामूहिक वृद्धि र पारस्परिक लाभको यात्रामा अगाडि बढेको बताएका छन् ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले दुई राष्ट्र बीचको आर्थिक र व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने चौधरी ग्रुपको उद्देश्यमा एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् ।
‘यस रणनीतिक सहकार्यमार्फत हामी आर्थिक वृद्धि र विकासमा सक्रिय रूपले योगदान दिँदै नेपाल-भारत आर्थिक र व्यापारिक सम्बन्धलाई अझ बढी सुदृढ पार्न चाहन्छौं,’ प्रबन्ध निर्देशक चौधरीले भने ।
उनले अदानी ग्रुपका चेयरपर्सन गौतम अदानीलाई यस रणनीतिक साझेदारीलाई सफलबनाउन नेतृत्व दिई भूमिका खेलेकोमा र अटल समर्थनको लागि आभार व्यक्त गरे ।
चौधरी ग्रुप दशकौँदेखि औद्योगिक र व्यापारिक विरासत बोकेको नेपालको प्रतिष्ठित औद्योगिक घराना हो । एफएमसीजी, हस्पिटालिटी, रियल स्टेट, फाइनान्स लगायतका क्षेत्रहरूमा यस ग्रपले आफ्नो बलियो उपस्थिति देखाउँदै आएको छ ।