१५ तथ्यांकमा देशको कृषि क्षेत्रको वास्तविक अवस्था

काठमाडौं । नेपालको कृषि क्षेत्रको पछिल्लो अवस्था देखाउने ‘सातौं कृषि गणना २०७८’ सार्वजनिक भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार कृषि गणना सार्वजनिक गरेको हो ।

सार्वजनिक गणनामा पछिल्लो १० वर्षमा कृषि क्षेत्रमा भएको परिवर्तनको तथ्यांकहरु समावेश गरिएको छ । २०६८ सालको तुलनामा २०७८ आइपुग्दा कृषि क्षेत्रमा के कति परिवर्तन भयो भन्ने देखाइएको छ ।

कार्यालयले २०७९ वैशाख ६ देखि जेठ १९ सम्म करिब ७ हजार जनशक्ति परिचालन गरेर कृषिगणना गरेको थियो। वैज्ञानिक विधिबाट ३ लाख ३० हजार ११२ कृषक परिवार छनोट गरी ५ हजार १५० गणक, १ हजार ३५० सुपरिवेक्षक र ७७ जना कृषिगणना अधिकृत परिचालन गरी प्रश्नावलीमार्फत कृषि तथा पशुपन्छीसम्बन्धी विस्तृत विवरण संकलन गरिएको कार्यालयले जनाएको छ। यसअघि जिल्लागत रुपमा तथ्यांक संकलन गर्ने गरिएकामा यसपालि ७५३ वटै पालिकासम्मका कृषि तथ्यांक संकलन गरिएको हो।

यस्ता छन् कृषि गणनामा उल्लेख मुख्य तथ्यांकहरू

१. कृषक परिवारको संख्या ३ लाख बढ्यो : पछिल्लो एक दशकमा नेपालमा कृषक परिवारको संख्या ३ लाखले बढेको छ । नयाँ तथ्यांक अनुसार देशभर कृषिमा आबद्ध परिवारको संख्या ४१ लाख ३१ हजार ७८९ पुगेको छ । २०६८ मा यस्तो परिवार संख्या ३८ लाख ३१ हजार ९३ थियो ।

यस अवधिमा कुल परिवारमध्ये कृषिमा संलग्न परिवारको प्रतिशत भने घटेको छ । २०६८ मा नेपालमा कुल परिवारमध्ये ७१ प्रतिशत कृषक रहेकामा अहिले ६२ प्रतिशतमा झरेको छ ।

२. खेती गर्ने जमिनको क्षेत्रफल घट्यो : पछिल्लो दशकमा कृषको संख्या बढे पनि खेती गरिएको जमिनको क्षेत्रफल भने घटेको छ । तथ्यांक कार्यालयका अनुसार नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा कृषि गरिएको छ । यो १० वर्ष अघिको तुलनामा ३ लाख ८ हजार हेक्टरले कम हो । २०६८ को कृषि गणनामा २५ लाख ३१ हजार हेक्टर जमिनमा खेति गरिन्थ्यो ।

३. ५४ प्रतिशत जमिनमा सिचाइँ : हाल खेती भइरहेको कुल जमिनमध्ये आधा बढी जमिनमा सिचाइँ सुविधा पुगेको छ । कार्यालयका अनुसार १२ लाख ९ हजार २६५.५ हेक्टर जग्गामा सिँचाइ सुविधा उपलब्ध रहेको छ । यो खेती गरिने कुल जमिनको ५४.५ प्रतिशत जग्गामा सिँचाइ सुविधा पुगेको हो ।

अघिल्लो कृषिगणना २०६८ मा सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल ५२ प्रतिशत मात्र थियो । सिंचित क्षेत्रफलमध्ये बाह्रै महिना सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल ८ लाख ७९ हजार ५७० हेक्टर रहेको छ

४. सबैभन्दा धेरै जग्गामा धान बाली : कृषिगणना अनुसार सबैभन्दा धेरै जग्गामा खाद्यान्न बाली लगाइएको छ । १२ लाख १६ हजार ३८७.७ हेक्टरमा धान, ५ लाख ५९ हजार ९०९.३ हेक्टरमा मकै र ६ लाख ५४ हजार १९४.३ हेक्टरमा गहुँ बाली लगाइएको हो ।

१ लाख ९९ हजार ८४४.८ हेक्टरमा कोसेरदाल, १ लाख ८० हजार १४१.१ हेक्टरमा तेल, १ लाख ७ हजार ७३३.८ हेक्टरमा तरकारी, १ लाख ४ हजार ७३७.८ हेक्टरमा कन्दमुल, ५६ हजार ८९३.५ हेक्टरमा मसला र ४४ हजार ६०९.३ हेक्टरमा नगदे बाली लगाइएको गणनामा उल्लेख छ।

५. फलफूल खेती बढ्यो : गणनाले पछिल्लो १० वर्षमा फलफूल खेती बढेको देखाएको छ । १९ हजार ७८१.७ हेक्टरमा आँप, ७ हजार ८९८.२ हेक्टरमा केरा र ६ हजार ५४५.३ हेक्टरमा सुन्तला खेती लगाइएको छ । त्यस्तै, ३ हजार ८०.२ हेक्टरमा स्याउ र २ हजार ८०६.९ हेक्टरमा कागती खेती गरिएको छ।

बाली सघनतादर १.९१ देखिएको छ। यो सूचकले कृषकले बर्षमा सरदर दुई बाली लगाउने गरेको जनाउँद छ। १० वर्षअघिको गणनामा बाली सघनतादर १.८५ थियो।

६. पशुपालन गर्ने परिवार ५० हजार बढे : १० वर्षको अवधिमा पशुपालन गर्ने परिवार करिब ५० हजारले बढेको छ । २०६८ मा पशुपालन गर्ने परिवार ३३ लाख ५३ हजार ८५७ रहेकोमा २०७८ सम्म आइपुग्दा बढेर ३४ लाख ५ हजार १४ पुगेको हो । ती परिवारसँग करिब २९ लाख राँगाभैंसी, करिब ४६ गाईगोरु, करिब १ करोड ४२ लाख बाख्रारखसीरबोकारच्याङ्ग्रा र करिब १४ लाख सँगुर÷बंगुर÷बँदेल छन्। उन्नत गाई र भैंसीको संख्यामा उल्लेख्य रुपमा बढेको तथ्यांक छ।

४२ हजार ८ परिवार माछापालनमा संलग्न छन्। उनीहरुसँग ४८ हजार ७६३ वटा पोखरी छन्। १० वर्षअघि माछा पाल्ने परिवारको संख्या १७ हजार १९१ थियो।

यस्तै, १ लाख ९६ हजार ८५४ परिवार मौरीपालनमा संलग्न छ । उनीहरुसँग ५ लाख १० हजार ४१४ वटा घार छन्। १० वर्षअघि मौरीपालन गर्ने परिवार १ लाख २४ हजार १५० थियो।

७. ट्याक्टर प्रयोग गर्नेको संख्या झण्डै दोब्बरले बढे : यस अवधिमा खेतीका लागि ट्याक्टर प्रयोग गर्नेको संख्या झण्डै दोब्बरले बढेको छ । १० वर्षअघि ८ लाख ४५ हजार कृषक परिवारले ट्याक्टर प्रयोग गर्ने गरेकामा अहिले त्यो संख्या बढेर १६ लाख ३९ हजार पुगेको छ। यस्तै, फलामे हलो प्रयोग गर्ने परिवारको संख्या ८ लाख ५६ हजार २८३ बाट ५ लाख ९ हजार ८२५ मा झरेको छ।

८. कृषि प्रयोजनका लागि ऋण लिने आधा घटे : यस अवधिमा कृषिका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेको प्रतिशत भने झन्डै आधाले घटेको छ । गणना अनुसार ४ लाख ८३ हजार २०८ अर्थात ११.७ प्रतिशत कृषक परिवारले मात्र कृषि प्रयोजनाका लागि ऋण लिएका छन्। जबकी १० वर्षअघि यसप्रकारको ऋण लिने परिवार संख्या ८ लाख ३५ हजार ९२१ अर्थात् २१.८ प्रतिशत थियो।

९. पौने २ लाखले गरे कृषि बीमा : कृषिगणना अनुसार १ लाख ८२ हजार ४४१ (४.४ प्रतिशत) कृषक परिवारले कृषि बीमा गरेको उल्लेख गरेका छन् । बीमा गरेकामध्ये सबैभन्दा बढी १ लाख ५३ हजार ९६२ (८४.४ प्रतिशत) कृषक परिवारले पशुपालन कार्यको लागि बीमा गरेको बताएका छन् ।

१०. ३ लाखले पाए सरकारी अनुदान : गणना अनुसार ३ लाख ८ हजार ५१२ अर्थात् ७.५ प्रतिशत कृषक परिवारले सरकारी अनुदान पाएको उल्लेख छ ।

११. कृषिमा संलग्न हुने पुरुष घटे, महिला बढे : कृषिगणना २०६८ अनुसार मुख्य कृषकमा ८१.० प्रतिशत पुरुष र १९.० प्रतिशत महिला रहेका थिए भने कृषिगणना २०७८ अनुसार मुख्य कृषकमा पुरुषको हिस्सा घटेर ६७.६ प्रतिशत र महिलाको हिस्सा बढेर ३२.४ हुन पुगेको देखिन्छ।

१२. कृषक परिवारमा अक्सर बसोबास गर्ने १ करोड ९४ लाख : कृषिगणनाको प्राप्त नतिजा अनुसार कृषक परिवारमा अक्सर बसोबास गर्ने जम्मा जनसंख्या १ करोड ९४ लाख ४७ हजार ९५५ रहेको छ। यी कृषक परिवार जनसंख्यामध्ये महिला ९९ लाख ४ हजार १३० (५०.९ प्रतिशत० ) र पुरुष ९५ लाख ४३ हजार ८२५ (४९.१ प्रतिशत) छन् ।

१३. ७० प्रतिशत कृषकको मुख्य आम्दानी : कृषिकार्य गणनाा अनुसार ७०.४ प्रतिशत कृषक परिवारको आम्दानीको मुख्य श्रोत कृषिकार्य रहेको देखाएको छ । अघिल्लो कृषिगणनाले यो प्रतिशत ८३.१ देखाएको थियो । गणनाबाट प्राप्त नतिजाले ४५ प्रतिशत कृषक परिवारले आफ्नो कृषिकार्यबाट भएको आम्दानीले वर्षभरी खान बताएका छन् भने अघिल्लो कृषिगणना २०६८ मा यसरी उल्लेख गर्ने कृषक परिवार ४० प्रतिशत थिए । पुग्ने

१४. ८८ प्रतिशतको मुख्य उत्पादन खाद्यान्न : कृषिगणना २०७८ अनुसार अधिकांश कृषकको मुख्य उत्पादन खाद्यान्न बाली रहेको छ । ८८ प्रतिशत कृषक परिवारको मुख्य कृषि उत्पादन र क्रियाकलाप खाद्यान्न बाली रहेको छ । यस्तै, दोस्रो र तेस्रो स्थानमा क्रमशः तरकारी बाली ६ प्रतिशत र पशुपालन ३ प्रतिशत रहेको देखिन्छ।

१५. ७९ प्रतिशतले बेच्दैनन् कृषि उत्पादन : कृषि गणना अनुसार ६८.८ प्रतिशत कृषकले आफ्नो कृषिकार्यबाट भएको सबै उत्पादन घरायसी उपभोगको लागि प्रयोग गर्ने गरेका छन् । यस्तै, १.१ प्रतिशतले सबै बिक्रीका लागि उत्पादन गर्ने र २४.७ प्रतिशतले घरायसी उपभोग र बिक्री दुवै गर्ने गरेको पाइएको छ । जम्मा कृषक परिवारमध्ये २६ प्रतिशत परिवारले कृषि कार्यका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप पनि सञ्चालन गरेको बताएका छन्। अघिल्लो कृषिगणनाका अनुसार यो प्रतिशत १६ रहेको थियो ।

 

निर्यातको सुविधालाई थप निरन्तरता दिन बेलायती राजदुतसँग उद्योग मन्त्रीको आग्रह Read Previous

निर्यातको सुविधालाई थप निरन्तरता दिन बेलायती राजदुतसँग उद्योग मन्त्रीको आग्रह

सेयर बजारमा उच्च अंकको गिरावट Read Next

सेयर बजारमा उच्च अंकको गिरावट