ईभी चार्जिङ नेटवर्क निर्माणमा निजी लगानी ल्याउन पहल, यसो भन्छन् सरोकारवाला

काठमाडौं । नेपाल विद्युत प्राधिकरण, एसिशयन डेभलपमेन्ट बैंक र नर्वेजियन एम्बेसीको सहकार्यमा स्थापना भएको ५१ वटा डीसी फास्ट चार्जरहरू आजदेखि संचालनमा आएका छन् । प्राधिकरणको नेतृत्वमा निर्माण भएका यी चार्जिङ नेटवर्कको प्रयोगले नेपालमा ईभी प्रयोगलाई रफ्तार दिएको छ ।

नेपाल विद्युत प्रधिकरणको नेतृत्वमा तयार भएको पहिलो चरणको ५१ स्थानको चार्जरहरू सबै संचालनमा आएका हुन् । सबै चार्जिङ सेन्टर संचालन गर्दै प्राधिकरणले थप ११ स्थानमा नयाँ नेटवर्क निर्माणको काम अगाडि बढेको जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिंङले भने, ‘पहिलो चरणको काममा आफूहरूले सफलता पाएको र चाँडै थप नेटवर्क विस्तार गर्ने तथा क्लीन इनर्जीको प्रयोग बढाउन प्राधिकरण प्रतिबद्ध रहेको छ ।’

उनले निजी क्षेत्रको लागि आवश्यक चार्जिङ नेटवर्क बनाउन चाहिने ट्रान्सफर्मर प्राधिकरणले निःशुल्क उपलब्ध गराउँदै आएको र त्यसलाई निरन्तरता दिने बताए ।

‘हामी चार्जर राख्न चाहने निजी क्षेत्रलाई विद्युत र ट्रान्सफर्मर उपलब्ध गराउँछौं । यसले नेपालमा ईभीको प्रयोग बढाउने र दीर्घकालमा देशलाई फाइदा पुग्ने छ,’ घिसिङले भने ।

कार्यक्रममा ऊर्जामन्त्री शक्ति बस्नेतले सरकार दीर्घकालीन योजना बनाएर ऊर्जा विकासमा लागेको र नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढाउन कुनै कसर बाँकी नराखी काम गर्न लागिपरेको बताए ।

‘हामी १०/१२ वर्षको योजना बनाएर अगाडि बढेका छौं । यसले नेपाल ऊर्जामा अत्मनिर्भरपछिको योजनालाई अगाडि ल्याउने छ । ऊर्जाकै माध्यमबाट देश विकास सम्भव छ,’ मन्त्री बस्नेतले भने ।

ऊर्जा सचिव दिनेशकुमार घिमिरेले चार्जिङ नेटवर्क विस्तारमा निजी क्षेत्रसँग कसरी काम गर्ने भन्ने विषयमा ठोस योजना बनाउने काम अगाडि बढेको जानकारी दिए ।

‘हामी सन् २०३० सम्म निजी प्रयोगमा आउने ९० प्रतिशत क्लिन इनर्जी भेहिकल बिक्री हुनेगरी काम गरिरहेका छौं । त्यसको लागि पूर्वाधारमा लगानी अनिर्वाय शर्त हो । यसमा निजी क्षेत्र समेट्न हामी काम गर्दैछौं,’ सचिव घिमिरेले भने ।

एशियाली विकास बैंकका इनर्जी सेक्टरका डाइरेक्टर सुजाता गुप्ताले वातावरण बचाउने जिम्मेवारी हाम्रै भएको धारणा राखेकी थिइन् ।
‘२० वर्ष अगाडि काडमाडौंमा पंखा पनि चाहिँदैन थियो । अहिले हरेका घरमा एसी जडान हुन थालेको छ । नेपाल क्लिन इनर्जीमा धेरै सम्भावनाको देश भएकाले ईभी प्रयोगमा विश्वलाई नेतृत्व गर्न सक्छ,’ डाइरेक्टर गुप्ताले भनिन् ।

कार्यक्रममा आफ्नो धारणा राख्दै नर्वेजियन एम्बेसीका प्रतिनिधि जेन एरिकले पेसिर सम्झौता अनुसार पृथ्वीको तापमान माइनस १.५ डिग्री कम गर्ने काममा विश्व लागेको र नेपाल त्यसबाट अछुतो रहन नसक्ने धारणा राखे ।

‘नर्वे आफैं ईभीको प्रयोग बढाइरहेको देश हो । नेपालले पनि ईभी प्रयोग बढाइरहेको छ । अहिले बनेका चार्जिङ नेटवर्क सुरूआत हो । यसमा थप काम गर्न हामी नेपाल सरकारलाई सघाउने छौं,’ एरिकले भने ।

 

दराजले सुरू गर्‍यो ‘दराज लाइक न्यू’ Read Previous

दराजले सुरू गर्‍यो ‘दराज लाइक न्यू’

ग्वार्को फ्लाइओभरको संशोधित डिजाइन स्वीकृत, अब २४ वटा 'पाइल' राखिने Read Next

ग्वार्को फ्लाइओभरको संशोधित डिजाइन स्वीकृत, अब २४ वटा 'पाइल' राखिने