ग्वार्को फ्लाइओभरको संशोधित डिजाइन स्वीकृत, अब २४ वटा ‘पाइल’ राखिने

सांकेतिक तस्वीर

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित निर्माणधीन फ्लाइओभरको संशोधित डिजाइन स्वीकृत भएको छ । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान विकास केन्द्रले उक्त फ्लाइ ओभरको संशोधित डिजाइन स्वीकृत गरेको हो ।

फ्लाइओभर निर्माणको ठेक्का पाएको एम/एस आशिष-समानान्तर जेभीले पहिला बनाएको डिजाइन अनुसार काम गर्न सम्भव नभएको भन्दै डिजाइन संशोधन गर्न गत जेठमा केन्द्र समक्ष आग्रह गरेको थियो । निर्माण कम्पनीले ३ महिना अघि प्रस्ताव गरेको संशोधित डिजाइन भदौ १० गते स्वीकृत भएको केन्द्रले जनाएको छ ।

सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर ९सीडीई० राकेश महर्जनले डिजाइन संशोधनका क्रममा पाइलको संख्यामा परिवर्तन आएको बताए ।

उनले संशोधित डिजाइनमा १६ वटा पाइल थपिएको बताए । पुरानो डिजाइनमा दुवैतर्फ ४/४ वटा गरेर जम्मा ८ वटा पाइल निर्माण गर्ने भनिएकोमा अहिले संशोधन गरेर दुवैतर्फ १२/१२ वटा गरी २४ वटा पाइल राख्न लागिएको उनले बताए ।

‘यो डिजाइन स्वीकृत भएसँगै अब २४ वटा पाइल राखेर फ्लाइ ओभर बन्ने छ, पहिला ठूला तर थोरै संख्यामा पाइल हाल्ने गरी डिजाइन बनेको थियो, अब सबै साना मात्र पाइल राखिने छ,’ उनले चाणक्य पोष्टसँग भने ।

उनले पाइलको संख्या बढाइए पनि मोटाइ र लम्बाइ भने घटाइएको जानकारी दिए । पहिला पाइलको डायमिटर १।५ मिटर रहेको अहिले घटाएर १.२ मिटर बनाइएको छ ।

उनले पाइलको साइज सानो भए पनि धेरै संख्यामा राखिने भएकाले कुनै फरक नपर्ने बताए । विगतमा निर्माण सामाग्री नभएको भन्दै निर्माण व्यवसायीले सडक विभागसँग डिजाइन संशोधन गराई मागेको थियो ।

१७ करोड ६८ लाख ८८ हजार ८०८ रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्नेगरी एम/एस आशिष-समानान्तर जेभीले ठेक्का पाएको छ । फागुनमा सुरु भएको फ्लाइओभर निर्माणका क्रममा फाउन्डेसन निर्माणका लागि खाल्टो खनेर माटो निकाल्ने काम गरिरहेको थियो ।

उनले हाल प्यानल बनाउने काम भइरहेको बताए । फ्लाइओभर इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी)मोडलमा निर्माण भइरहेको छ । काम सुरु भएको २ वर्षमा निर्माण सक्ने गरी निर्माण भइरहेको छ । ४५५ मिटर लम्बाइ हुने गरी फ्लाइओभर चक्रपथको बीचमा रहेको ४ लेनमा समानान्तर भएर निर्माण हुनेछ ।

 

ईभी चार्जिङ नेटवर्क निर्माणमा निजी लगानी ल्याउन पहल, यसो भन्छन् सरोकारवाला Read Previous

ईभी चार्जिङ नेटवर्क निर्माणमा निजी लगानी ल्याउन पहल, यसो भन्छन् सरोकारवाला

मन्दीले निम्त्याएको संकट : जनकपुरमा  १०० बढी पसल बन्द, जायजेथा छाडेर भाग्दै व्यापारी Read Next

मन्दीले निम्त्याएको संकट : जनकपुरमा १०० बढी पसल बन्द, जायजेथा छाडेर भाग्दै व्यापारी