काठमाडौं । सहरी विकास विभागले देशका विभिन्न ठाउँमा १३ स्मार्ट सिटी बनाउनको लागि निर्माण व्यवसायी (ठेकेदार) कम्पनी छनोट प्रक्रिया अगाडि बढाएको छ ।
विभागले निर्माण व्यवसायी छनोटको लागि सार्वजनिक खरिद प्रक्रिया अन्तर्गत बोलपत्र आह्वान गरेको छ । १३ वटै स्मार्ट सिटीका लागि खरिद प्रकृयाबाट १/१ निर्माण कम्पनी छनोट गरी निर्माणको जम्मा दिइने सहरी विभागका आयोजना उपनिर्देशक सचिन्द्र कुमार देउले जानकारी दिए ।
चालू आर्थिक वर्षमा सरकारले १३ वटै स्मार्ट सिटी निर्माणका लागि ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रत्येक स्मार्ट सिटीलाई ५०/५० लाख रुपरैयाँ बजेट विनियोजन गरिएको हो । सो बजेट निर्माण क्षेत्रका विभागमा पठाइसकेको उनले बताए । ‘सबै स्मार्ट सिटी खरिद प्रकृयामा छन्, त्यसपछि निर्माण कम्पनी छनोट गरी काम शुरु गरिन्छ,’ उपनिर्देशक देउले चाणक्य पोष्टसँग भने ।
विभाग अन्तर्गत दुल्लु, अमरगढी, टिकापुर, लुम्बिनी, धनकुटा, मिर्चैया, चन्द्रपुर काभ्रे, निजगढ, भरतपुर, वालिङ्ग, पालुङ्गटार र तुलसीपुरमा स्मार्ट सिटी बनाउने योजना रहेका छन् ।
उक्त स्मार्ट सिटीहरुको निर्माणका लागि हाल खरिद प्रकृया शुरुभएको हो । खरिद प्रकृयामा आउन चाहाने निर्माण व्यवसायीको मूल्यांकन गरी छनोट गरिनेछ । खरिद प्रकृया र मूल्यांकनबाट निर्माण व्यवसायी छनोटका लागि ४५ दिन लाग्ने देउले जानकारी दिए ।
विभागका अनुसार पछिल्लो समय, फिदिम, धनुसा र पर्सामा तीव्र गतिमा नयाँ सहर निर्माणको काम भइरहेको छ । यस्तै हुलाकी राजमार्ग तथा तराई मधेशका १५ वटा नयाँ शहरहरुको डीपीआर सम्पन्न भइ विभिन्न सहरहरुमा तीव्र गतिमा काम भइरहेको देउले बताए ।
हुलाकी लोकमार्गका छेउछाउमा १० वटा नयाँ सहर बनाइने छ । हुलाकी लोकमार्ग अन्तर्गत १० वटा जिल्लामा नयाँ सहर निर्माण गरिने भएको हो ।
मन्त्रालयका अनुसार झापाको गौरीगञ्ज, मोरङको रंगेली, महोतरीको मनरा, सर्लाहीको ब्रम्हपुरी, रौतहटको मौलापुर, बाराको महागढीमाई, नवलपरासीको बर्दघाट, बर्हियाको राजापुर, कैलालीको भजनी र कञ्चनपुरको बेलैरीमा नयाँ सहर निर्माण हुने काम भइरहेको विभागले जनाएको छ ।
सरकारले तराई–मधेशमा ५ वटा नयाँ सहर विकास गर्दै छ । सप्तरी, महोत्तरी, सर्लाही, रौतहट र दाङमा गरी ५ स्थानमा नयाँ सहर बनाउँदै छ । सप्तरीको सम्भूनाथ, महात्तरीको बलवा, सर्लाहीको ईश्वरीया, रौतहटको कटहरीया र दाङको गढवामा नयाँ सहर बनाइने काम तिब्र गतीमा भइरहेको देउले बताए ।
‘हामीले हुलाकी राजमार्ग तथा तराई मधेश अन्तर्गतका नयाँ सहरहरु निर्माण तीव्र गतिमा रहेको छ, हामीले बेला बेलामा आफैं गएर निरीक्षण समेत गरिरहेका छाैं,’ देउले भने ।
यस्तै मध्य पहाडी लोकमार्ग अन्तर्गत १२ वटा नयाँ सहरको डीपीआर अन्तिम चरणमा पुगेको छ । चालू आवमा नयाँ सहर निमार्ण कै लागि २ अर्बका हाराहारीमा बजेट विनियोजन गरिएको छ । गत आवमा समेत सोही हाराहारीमा बजेट विनियोजन गरिएको थियो । विनियोजित बजेटको कूल ८२ प्रतिशत खर्च भएको थियो ।
नेपालभर कूल ४५ वटा नयाँ सहरहरु निर्माण गरिने गरी काम अघि बढी रहेको विभागले जनाएको छ । सकाले २० वर्षभित्रमा नेपालभर विभिन्न स्थानमा नयाँ सहर निर्माण गरी विकसित सहरको रुपमा विकास गर्ने योजना बनाएको छ ।
हालै शुरु भएको हिमाली सहरहरुको समेत चाँडै डीपीआर सकिने अनुमान गरिएको छ । हिमाली सहर अन्तर्गत सोलुखुम्बु, रसुवा, मुस्ताङ, हुम्ला र बाजुरा गरी ५ स्थानमा नयाँ सहर निर्माणका लागि डीपीआर निर्माण गरिने काम भइरहेको छ ।
सरकारले सोलुखुम्बुको लुक्ला, रसुवाको स्याफ्रुवेशी, मुस्ताङको जोमसोम, हुम्लाको सिमिकोट र बाजुराको मार्तडीमा हिमाली सहरकका रुपमा विकास गर्न लागेको हो ।