काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप ११ वटा नयाँ धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरूलाई सदस्यता प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डबाट संचालन अनुमति पाई नेप्सेमा आवेदन दिएका थप ११ ब्रोकरलाई सदस्यता नम्बर दिएकाे हाे ।
नेप्सले ती नयाँ ब्रोकर कम्पनीहरूको पूर्वाधार (कार्यालय) निरीक्षणपछि सदस्यता प्रदान गरेको हो । सदस्यता पाएका ११ वटै ब्रोकर कम्पनीहरू सीमित कार्य गर्ने कम्पनीहरू हुन् ।
नेप्सेले सेयर कारोबारका लागि गरिमा सेक्युरिटिजलाई (ब्रोकर नं. ७८), पाही इन्भेष्टमेन्ट (ब्रोकर नं. ७९), इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०), आकाशभैरव सेक्युरिटिज (ब्रोकर नं. ८१), एनएमबी सेक्युरिटिज (बूोकर नं. ८२) र सानिमा सेक्युरिटिज (ब्रोकर नं. ८३) सदस्यता नम्बर दिएको छ ।
त्यसैगरी, मिल्की वे सेयर ब्रोकर (ब्रोकर नं. ८४), क्यापिटल हब (ब्रोकर नं. ८५), स्टकस्कार्टस सेक्युरिटिज (ब्रोकर नं. ८६), एसपीएसए सेक्युरिटिज (ब्रोकर नं. ८७) र ब्लु चिप सेक्युरिटिजलाई (ब्रोकर नं. ८८) दिइएको नेप्सेले जनाएको छ ।
यससँगै नेप्सेबाट कारोबार सदस्यता नम्बर पाउने नयाँ ब्रोकरहरूको संख्या २८ पुगेको छ । यसअघि नेप्सेले असार २१ गते ७ वटा, साउन १२ गते ७ वटा र साउन १९ गते ३ वटा नयाँ ब्रोकरहरूलाई कारोबार सदस्यता नम्बर प्रदान गरेको थियो ।
सदस्यता नम्बर पाएका नयाँ २८ वटासहित कुल ब्रोकरको संख्या ७८ पुगेको छ ।