काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन वटा आकाशे पुलमा अपाङ्गमैत्री लिफ्ट राखने भएको छ । महानगपालिकाले नयाँ बानेश्वर, चाबहिल र पुरानो बसपार्कको आकाशे पुलमा अपाङ्गमैत्री लिफ्ट राख्न लागेको हो ।
आकाशे पुलमा लिफ्ट राख्न विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) निर्माणको चरणमा पुगेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका सिनियर आर्किटेक विनोद न्यौपानेका अनुसार महानगरपालिकाले अर्को हप्ताभित्र डीपीआर सम्पन्न गर्नेछ ।
उनले यस अघि पनि यस्तो योजना बनाइए पनि निर्माणले सार्थकता पाउन नसकेको बताए । ‘यो सिम्पल डिजाइनमा बन्न लागेको हो, अर्को हप्तासम्म डीपीआर पनि निर्माण भइसक्छ, अनि सिधै ठेक्कातर्फ लाग्छौँ,’ न्यौपानेले चाणक्य पोष्टसँग भने ।
उनका अनुसार अपाङ्गमैत्री लिफ्ट आकाशे पुल माथि चढ्न र तल झर्नका लागि दुवैतर्फ बनाइने छ । उनले यो न्यूनतम साढे २ मिटर लामो हुने बताए । फुटपाथमा हिँड्ने मान्छेलाई असर नपर्ने गरी निर्माण गर्नुपर्ने उनले जानकारी दिए ।
यो लिफ्टको प्रयोग अपाङ्ग तथा अशक्त, वृद्ध/वृद्धा र बच्चा बोकेर यात्रा गर्नेले प्रयोग गर्न सक्ने छन् । सुरूमा महानगरले आफ्नै प्रहरीमार्फत लिफ्ट सञ्चालन गर्ने भए पनि भविष्यमा ट्राफिक प्रहरी कार्यलयबाट सीसी क्यामेराबाटै संचालन गरिने उनले बताए ।
हाल यसको फिजिबिलिटी स्टडी समेत भइरहेको उनले जानकारी दिए । लिफ्टबाट एकपटकमा २० देखि ३० जना मानिस चढ्न/ओर्लन सक्नेछन् । उनले यसको लागत धेरै महंगो नभएका कारण सुरूमा नमूनाका रूपमा बनाउन लागिएको हो । यो सफलतापूर्वक निर्माण भएपछि अन्य स्थानमा समेत थपिने छ ।
काठमाडौं महानगरले आकाशे पुलमा लिफ्ट जडान गर्नका लागि चालु आवको बजेटमा ५ करोड रुपैयाँ विनियोजन गरेको छ । यी ३ वटा अपाङ्गमैत्री लिफ्ट भने ४ करोड रुपैयाँमा बनाउने योजना रहेको महानगरले जनाएको छ ।