काठमाडौं । सरकारले ललितपुरको सातदोबाटो र एकान्तकुनामा निर्माण हुने फ्लाइओभरको बहुवर्षीय ठेक्का लगाउने तयारी थालेको छ । एकैपटक ठेक्का लगाउन स्रोत अभाव हुने भएपछि सडक विभागले ती फ्लाइ ओभर निर्माणका लागि बहुवर्षीय ठेक्का लगाउने तयारी गरेको हो ।
सडक विभागका प्रवक्ता रामहरी पोखरेलले सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर बनाउन बहुवर्षीय ठेक्का लगाउने तयारी भइरहेको बताए । उनले फ्लाइओभर निर्माणका लागि बजेट सुनिश्चित गर्न अर्थमन्त्रालयमा निवेदन पेश गरिएको बताए ।
‘सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर बहुवर्षीय ठेक्का लगाउन बजेट सुनिश्चिताका लागि मन्त्रालयमा निवेदन गरिएको छ, बजेट सुनिश्चित हुनासाथ हामी ठेक्का प्रक्रिया सुरू गर्नेछौँ,’ पोखरेलले चाणक्य पोष्टसँग भने ।
सरकारले विगत लामो समयदेखि ललितपुरको सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने भने पनि अझै सुरू हुन सकेको छैन ।सातदोबाटोमा बन्ने भनिएको फ्लाइओभरको डिजाइन पूरा भइसकेको छ । फ्लाइओभरको डिजाइन सम्पन्न भए पनि बजेट सुनिश्चित नहुँदा ठेक्का प्रकृया सुरू हुन नसकेको प्रवक्ता पोखरेलले बताए ।
यस्तै, एकान्तकुनामा बन्ने फ्लाइओभरको डिजाइन बन्ने क्रममा रहेको छ । ४ लेनको बन्ने यी फ्लाइओभरहरू बहुवर्षीय ठेक्कामा बनाउने तयारी भइरहेको हो ।
बढ्दो ट्राफिक जाम र सवारी चापलाई मध्येनजर गर्दै काठमाडौं उपत्यकाका आधादर्जन बढी ठाउँमा फ्लाइ ओभर निर्माण गरिने घोषणा गरिएको छ । उपत्यकाका सातदोबाटो, एकान्तकुना, तीनकुने–कोटेश्वर, बानेश्वर, महाराजगञ्ज, चाबहिल, थापाथली लगायत स्थानमा फ्लाइओभर र अण्डरपास निर्माणको घोषणा गरिएको छ ।
तर, हालसम्म ललितपुरको ग्वार्खोमा बाहेक अन्य फ्लाइओभरको निर्माण सुरू भएको छैन । नेपालकै पहिलो फरलाइओभरको
रुपमा निर्माण थालिएको ग्वार्खो फ्लाइओभर निर्माणको काम पनि सुस्त गतिमा अघि बढेको छ । यसको निर्माण थालिएको ९ महिनापछि डिजाइनमै त्रुटी भेटिएपछि संशोधन गरिएको छ ।
पहिलो पटक आर्थिक वर्ष २०६६/६७ सालको बजेट वक्तव्यमा फ्लाइओभरलाई समावेस गरिएको थियो । त्यसपछि हरेक वर्ष फ्लाइ ओभर निर्माणलाई बजेटमा राखिँदै आएको छ ।
आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमा पूर्वअर्थमन्त्री युवराज खतिवडाले बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाइओभर निर्माण गर्ने घोषणा गरेका थिए । सो समयमा अन्डरपास र फ्लाइओभरको विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण कार्य प्रारम्भ गरिने घोषणा भए पनि त्यो कार्यन्वयनमा आउन सकेको छैन् ।
यस्तै, ललितपुर महानगरपालिकाले कुपन्डोलदेखि थापाथलीमा फ्लाइओभर निर्माण गर्ने भनिए पनि मछेन्द्र नाथको रथ यात्रामा प्रभाव पर्नेभन्दै त्यो योजना अध्ययन नभई खारेज हुन पुगेको महानगरपालिकाले जानकारी दिएको छ ।