काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ३१ गतेदेखि बिक्रीमा ल्याएको ४० प्रतिशत अर्थात् १०:४ अनुपातमा हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयँँ दरले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीको हकप्रदमा अपि पावर, मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा, नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
कम्पनीले हकप्रद प्रयोजनका लागि असार २२ गते बुकक्लोज गरेको थियो । सो अनुसार असार २१ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड रहेको छ। हकप्रद निष्काशनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।
कम्पनीले हाल सञ्चालन गरी गरिरहेको आयोजनाहरुको ऋणमोचन गर्न हकप्रद सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले हाल ५ वटा आयोजना संचालन गरिरहेको छ ।
जसमा ८ मेगावाटको अप्पर नौगड गाढ जलविद्युत आयोजना, ८.५ मेगावाटको गौगड गाढ जलविद्युत आयोजना, ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना र १.१ मेगावाटको ढल्केबर सौर्य विद्युत आयोजना र सिमरा सौर्य विद्युत आयोजना रहेका छन् ।यी आयोजना सञ्चालन गर्न कम्पनीले कुल १ अर्ब ६८ करोड ५५ लाख ७४ हजार ६५ रुपैयाँ ४३ पैसा ऋण लिएको छ।
हाल ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २१२ रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार ९१२ रुपैयाँ पुग्नेछ।