काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरे बापतको बक्यौता बुझाउन उद्योगहरुलाई १५ दिनको अल्टिमेटम दिएको छ ।
प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेका औद्योगिक र व्यापारिक ग्राहकलाई बक्यौता महसुल तिर्न ताकेता गरेको हो ।
‘नेपाल विद्युत प्राधिकरणबाट विगतमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत सप्लाई लिई सो वापतको विद्युत महसुल भुक्तानी गर्न बाँकी भएका सम्पूर्ण उपभोक्ताहरुलाई नेपाल विद्युत प्राधिकरण, विद्युत वितरण विनियमावली, २०७८ को विनियम २७ (६) बमोजिम सम्वन्धित वितरण केन्द्रहरुबाट बक्यौता महसुल बुझाउन पटक/पटक पत्राचार गरिएकोमा हालसम्म पनि बक्यौता महसुल नबुझाए हुँदा आवश्यक भएको ऐ. विनियमावली विनियम २८ बमोजिम किस्ताबन्दीको सुविधा समेत प्राप्ति गरी यो सूचना प्रकाशित भएको १५ दिन भित्र बुझाउनु हुन सूचना यो प्रकाशित गरिएको छ,’ प्राधिकरणले भनेको छ ।
विभिन्न उद्योगहरुले २०७२ देखि २०७७ सम्म लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक प्रयोग गरे बापत २० अर्ब बढी बक्यौता असुल्न बाँकी रहेको प्राधिकरणले दाबी गर्दै आएको छ ।
बक्यौता महशुल १५ दिनभित्र नतिरे विद्युत् महसुल संकलन विनियमावलीमा भएको व्यवस्थाबमोजिम लाइन काटिने र विद्युत महसुल संकलन विनियमावली अनुसार कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ । उद्योगी/व्यावसायी बक्यौता रकम किस्ताबन्दीमा समेत तिर्न सक्ने प्राधिकरणले जनाएको छ ।
