माथिल्लो मैलुङ खोलाको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साउन ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका रसुवा र नुवाकोटका स्थानीयका लागि बिक्रीमा ल्याएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ । सोमध्ये ५ लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवाको उत्तरगया गाउँपालिका वडा नं. ९ का बासिन्दालाई छुट्याइएको छ ।

त्यसैगरी, २ लाख ८५ हजार ७२० कित्ता आयोजना प्रभावित क्षेत्र उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५, तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थानीय बासिन्दालाई र १ लाख ४२ हजार ८५० कित्ता माथि उल्लेख बाहेक रसुवाका अन्य क्षेत्रका बासिन्दालाई छुट्याइएको छ ।

स्थानीय बासिन्दाले आयोजना स्थल, सानिमा क्यापिटल, सानिमा बैंक तथा एनएमबी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

कम्पनीले प्रबर्धन गरिरहेको १४.३ मेगावाटको माथ्लिलो मैलुङ खोल जलविद्युत आयोजना निर्माण सम्पन्न भई परीक्षणको क्रममा छ । आगामी साउन १५ गतेदेखि व्यवसायिक उत्पादन गर्ने लक्ष्य राखेको आयोजनाको कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ४८ लाख २५ हजार १७८ रुपैयाँ रहेको छ।

मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे ई-रिक्सा चलाउन रोक Read Previous

मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे ई-रिक्सा चलाउन रोक

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्न प्राधिकरणको १५ दिने अल्टिमेटम Read Next

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्न प्राधिकरणको १५ दिने अल्टिमेटम