भारतले तीन देशमा चामल निर्यातमा लगाएको प्रतिबन्ध हटायो

काठमाडौं । भारत सरकारले एक महिना अघि लगाएको गैरबासमति चामल निर्यात प्रतिबन्ध तीन देशका लागि हटाएको छ ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले भुटान, सिंगापुर र मोरिससका लागि चामल निर्यात फुकुवा गरेको हो ।

भारतले यी तीनै देशमा कोटा तोकेर चामल निर्यात खुलाएको हो । यी देशका लागि कुल १ लाख ४३ हजार टन चामल निर्यात गर्नेछ । जस अनुसार भुटानका लागि ७९ हजार टन, सिंगापुरका लागि ५० हजार टन र मौरिससका लागि १४ हजार टन चामल निर्यातको अनुमति दिएको छ ।

भारतले तीन देशका लागि चामल निर्यातको प्रतिबन्ध हटाए पनि नेपालमा भने कायमै राखेको छ । नेपाल सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध हटाउन आग्रह गर्दै पत्र पठाए पनि भारतले अहिलेसम्म प्रतिक्रिया दिएको छैन ।

भारतले गत जुलाइ २० देखि गैरबासमति चामल निर्यातमा प्रतिबन्ध लगाएको थिय भने गत सातादेखि उसिना चामल निर्यातमा पनि ४० प्रतिशत कर लगाएको छ । भारतले चामल निर्यातमा रोक लगाएसँगै नेपाली बजारमा चामलको भाउ ह्वात्तै बढेको छ । व्यपारीहरुले भारतीय प्रतिबन्धको बाहनामा मनपरी भाउ बढाएका हुन् । पछिल्लो डेढ महिनाको अवधिमा मात्रै नेपाली बजारमा चामलको भाउ ३० प्रतिशतसम्म बढेको छ ।

भारत विश्वकै अग्रणी चामल निर्यातकर्ता हो। चामलको विश्वव्यापी व्यापारमा ४० प्रतिशत हिस्सा भारतको छ। गत वर्ष भारतले सवा २ करोड टन चामल १४० देशमा निकासी गरेको थियो।

यो वर्ष भारतमा समेत खाद्यान्नको मूल्यवृद्धि चर्को भयो तर त्यसैलाई मत्थर पार्न भारत सरकारले बासमतीबाहेक अरू प्रकारको चामल निकासीमा रोक लगाएको छ। अघिल्लो वर्ष भारतले गहुँको निर्यातमा रोक लगाएको थियो।

६१ किलो सुन प्रकरण : अनुसन्धान गर्न सीआइबीको टोली भारत गयो Read Previous

६१ किलो सुन प्रकरण : अनुसन्धान गर्न सीआइबीको टोली भारत गयो

तीन सुरुङमार्गको सम्भाव्यता अध्ययन सकियो, थप ६ वटाको तयारी Read Next

तीन सुरुङमार्गको सम्भाव्यता अध्ययन सकियो, थप ६ वटाको तयारी