काठमाडौं । सुरुङमार्ग निर्माण सरकारको प्राथमिकतामा पर्न थालेको छ । सडकको दुरी छोट्याइ इन्धन बचत गर्ने, भौगोलिक रुपमा कठिनाइ र पहिरोको जोखिम भएका ठाउँमा सुरक्षीत हुने भएकाले देशभर सुरुङमार्ग निर्माण प्राथमिकतामा पर्न थालेको हो ।
हाल देशभर झन्डै दुई दर्जन बढी सुरुङमार्ग घोषणा भएका छन् तीमध्ये ५ वटा निर्माणाधीन अवस्थामा छन् भने बाँकी अरु अधिकांश सुरुङमार्ग कागजै सीमित छन् ।
सडक विभागका प्रवक्ता रामहरी पोखरेलले सुरुङमार्ग नेपाल जस्तो भौगोलिक अवस्था भएको देशको लागि अत्यावश्यक पूर्वाधार भएकाले सरकारले प्राथमिकताको साथ अघि बढाएको बताए ।
‘सुरुङमार्ग आजको आवश्यकता हो । अहिले निर्माण गर्न नसके भविष्यमा भए पनि गर्नैपर्छ । हाम्रो जस्तो पहाडै पहाडले भरिएको देशमा सुरुङमार्ग निर्माण सबैभन्दा राम्रो र भरपर्दो मार्ग हो, त्यसैले प्राथमिकताका साथ सुरुङ निर्माणको काम अघि बढाउने प्रकृयामा छौँ,’ उनले चाणक्य पोष्टसँग भने ।
यसैबीच, सरकारले तीन वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरेको उनले जानकारी दिए । प्रवक्ता पोखरेलका अनुसार धरान–लेउती सुरुङमार्ग, गोदावोरी कुण्ड–काभ्रे मानेचौर र वीपीनगर–खुटिया–दिपायल सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको हो ।
‘नागढुंगासहित हाल ५ वटा सुरुङ निर्माणको चरणमा छन् । अरु सुरुङमार्ग पनि थपिने क्रम बढ्दो छ,’ उनले भने, ‘हामीले हालै थप तीन वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन पूरा गरिसकेका छौँ ।’
निर्माणधीन नागढुंगा-नौबिसे सुरुङमार्ग ।
कुनै पनि सुरुङमार्ग अध्ययनले निर्माण सम्भावना देखाए मात्र निर्माण हुने उनको भनाइ छ । अध्ययनको क्रममा त्यो ठाउँमा सुरुङमार्ग बनाउन असम्भव देखिए नबन्ने उनले बताए ।
थप आधा दर्जन सुरुङमार्ग अध्ययनको तयारी
यस्तै, सरकारले थप आधादर्जन सुरुङमार्गको पूर्व सम्भाव्यता अध्ययन अघि बढाउने तयार गरेको छ । प्रवक्ता पाखरेले आवश्यकताको आधारमा थप ६ सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राख्दै सम्भाव्यता अध्ययन अघि बढाउन लागिएको बताए ।
उनका अनुसार बबइ–छिन्चु सुरुङमार्ग, पोखराको फुस्रेखोला छोरेपाटनदेखि स्याङजाको गुडीकोला, रारा राजमार्गको कुशे पाटन ब्याउलीढुंगा र जुम्ला इँमिलचा खोला सुरुङ, बाग्लुङ्ग ब्यूँनरेठाटी सुरुङमार्ग, पाल्पाको प्रबास-जोर्ते सुरुङमार्ग र ताथली-रविओपी सुरुङमार्गको सम्भाव्यता अध्ययनको तयारी भइरहेको बताए ।
‘धेरै सवारी चाप रहेका र अत्यावश्यक देखिएका थप ६ वटा सुरुङमार्गको अध्ययनको तयारी भइरहेको छ,’ उनले भने । चालु आर्थिक वर्ष भित्रै यी सुरुङमार्गको अध्ययन थालिने उनको भनाइ छ ।
५ वटा निर्माणाधीन अवस्थामा
हाल देशका विभिन्न ठाउँमा ५ वटा सुरुङमार्ग निर्माणको काम भइरहेको छ । काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगा–नौबिसे, काठमाडौं तराई/मधेश फास्ट ट्रयाक अन्तर्गत ३ वटा र सिद्धबाबामा सुरुङमार्ग निर्माण भइरहेको छ ।
देशकै पहिलो सुरुङमार्ग नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजना अन्तर्गत सुरुङ खन्ने काम ९० प्रतिशत सम्पन्न भइसकेको छ । आपतकालीन सुरुङ ब्रेक थ्रु भइसकेको छ भने मुख्य सुरुङ पनि दशैं अघि नै ब्रेक थ्रु गरिने नागढुंगा सुरुङमार्गका प्रवक्ता तथा सिनियर सिभिल इन्जिनीयर रमेश कोइरालाले बताए ।
काठमाडौं–तराई/मधेस द्रुतमार्गमा निर्माणधीन सुरुङमार्ग ।
उनका अनुसार कुल २६८८ मिटर मुख्य सुरुङमध्ये अब ४५६ मिटर मात्र खन्न बाँकी छ । हालसम्म मुख्य सुरुङ काठमाडौंतर्फ ९९८.८० मिटर र धादिङतर्फ १२३३.४० मिटर गरी कुल २ हजार २२३२.२० मिटर खनिएको छ ।
त्यसैगरी, २ हजार ५५७ मिटर आपतकालीन (स्केप टनेल) सुरुङ खन्ने काम सकिएको छ । आयोजनाको कुल ५ हजार ४९९ मिटर सुरुङमार्ग (वर्किङ अडिट र क्रस प्यासेजसहित)मध्ये हालसम्म कुल ४ हजार ९३३.५५ मिटर निर्माण सम्पन्न भएको हो ।
यस्तै, काठमाडौं-तराई/मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको क्रममा ६.४ किलोमिटरको ३ वटा सुरुङमार्ग निर्माणको काम भइरहेको छ । आयोजनाको महादेवटारमा ३.३५५ किलोमिटर, धेद्रेको १.६३० किलोमिटर र लेनडाँडाको १.४३० किलोमिटर सुरुङ खन्ने काम भइरहेको छ ।
यस्तै, बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा भीरमा सुरुङमार्ग निर्माण भइरहेको छ । उक्त सुरुङ निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का पाएको छ । यो सुरुङको लम्बाइ १ हजार १२६ मिटर रहेको छ ।