आजदेखि कार्यान्वयनमा आयो एमसीसी परियोजना

काठमाडौं । नेपाल सरकार तथा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को संयुक्त लगानीको ‘एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम’ कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा भएको छ ।

मिलेनियन च्यालेन्ज नेपाल अकाउन्ट विकास समिति (एमसीए-नेपाल) अन्तर्गत कार्यान्वयन हुने परियोजनाको पूर्वतयारीका काममा पर्याप्त प्रगति भएको सहमतिपछि उक्त घोषणा गरिएको हो ।

अर्थमन्त्री डा प्रकाशशरण महत र एमसिसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले आज अर्थ मन्त्रालयमा आयोजित विशेष समारोहमा एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्ट्री फोर्स- ईआईएफ) सम्बन्धी पत्र आदानप्रदान गरे।

एआईएफसम्बन्धी पत्र आदानप्रदान कार्यक्रममा अर्थमन्त्री डा महतले एमसीए-नेपाल अन्तरगत कार्यान्वयन हुने विद्युत् प्रसारणलाईन र सडक आयोजनाले समग्र पूर्वाधार क्षेत्रका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, ‘आजबाट हामीले एमसीसी कार्यान्वयन सुरुआत गरेका छौंँ । यो कोशेढुङ्गासम्ममा आइपुग्न धेरै उतावचढाव भोग्नु परेको थियो ।’

अर्थमन्त्री डा महतले भने, ‘नेपालले पूर्वाधारका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको छ । एमसिए नेपाल अन्तरगतका सडक आयोजनाले नागरिकलाई उत्पादनमा जोड्न र उद्यम व्यवसायका लागि सहजता दिनेछ । अर्कोतर्फ नेपालमा जलविद्युत्को ठूलो सम्भावना रहेकाले प्रसारणलाइनले नेपालभित्रको प्रसारण प्रणाली सहज बनाउने मात्र नभइ भारतसँगको अन्तरदेशीय विद्युत व्यापारका लागि पनि महत्वपूर्ण रहेको छ ।’

अर्थ सचिव एवं एमसिए–नेपाल सञ्चालक समिति अध्यक्ष अर्जुनप्रसाद पोखरेलले नेपालको विद्युत् व्यापारमा लागि प्रसारण आयोजना महत्वपूर्ण रहेको बताए । जग्गा अधिग्रहणको काममा शीघ्रता दिएर चाँडै सक्ने र परियोजना कार्यान्वयनका क्रममा अनुगमनको काम प्रभावकारी ढङ्गले गर्ने प्रतिबद्धता उनले जनाए ।

एमसीए–नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) खड्गबहादुर विष्टले जग्गा अधिग्रहण र मुआब्जाको काम आगामी डिसेम्बर सम्ममा सकिसक्ने तयारी रहेको बताए ।

प्रसारणलाइनको ठेक्का प्रक्रिया सुरु भइसकेको उनको भनाइ छ । नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले दुई देशबीच ७५ वर्ष देखिको मैत्रीपूर्ण सम्बन्धबारे स्मरण गर्दै एमसीसी नेपाल कम्प्याक्टले दीर्घकालका लागि नेपालको समृद्धिलाई उकास्ने विश्वास व्यक्त गरे ।

एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले एमसीसी अन्तर्गतका परियोजना कार्यान्वयनका क्रममा इआईएफ एक महत्वपूर्ण कोशेढुङ्गा रहेको बताए।

सेयर बजारमा गिरावट, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Previous

सेयर बजारमा गिरावट, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

प्राधिकरणको एकाधिकार तोडिँदै, अब उद्योगले सिधै हाइड्रोसँग बिजुली किन्न सक्ने Read Next

प्राधिकरणको एकाधिकार तोडिँदै, अब उद्योगले सिधै हाइड्रोसँग बिजुली किन्न सक्ने