काठमाडौं । आज सेयर बजारमा गिरावट आएको छ । अघिल्ला दुई दिनमै ५१ अंकले घटेर सोमबार ५ अंकले बढेको नेप्से मंगलबार ५ अंक र बुधबार पनि २ अंकले घटेको छ ।
बुधबार नेप्से परिसूचक २.८२ अंकले घटेर १९९०.५९ विन्दुमा आइपुगेको छ । यसदिन २७६ कम्पनीको ३८ लाख कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम भने बढेको छ । आज १ अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
आज माछापुच्छ्रे बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यसको साढे १० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । घट्दो बजारमा सिटी होटलको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यस कम्पनीको सेयर मूल्य ९.८८ प्रतिशतले वृद्धि भएको हो ।
सानिमा डिबेन्चरको ५.७२, मायाखोला हाइड्रोपावरको ४.२३, एनआइबीएल ग्रोथ फन्डको ३.१२ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ । यस दिन सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फन्डका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७.९४, मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.०२ प्रतिशतले गिरावट आएको छ ।