काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत १३७ जना कर्मचारीहरूले सामूहिक सरुवा मागेका छन् ।
पछिल्लो समयमा ६० किलो सुन बरामदको घटनापछि काम गर्ने वातावरण नभएको भन्दै भन्सार विभागलाई पत्र लेख्दै उनीहरुले सामूहिक सरुवा मागेका हुन् ।
आफूहरुले दिनरात नभनी २४ घण्टै काममा खटिए पनि सुन काण्डपछि विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरूबाट विनाकारण दुःख दिने तथा मानसिक रूपमा क्षतविक्षत् बनाएकाले कार्यालयमा रही कामकाज गर्न कठिनाइ महसुस भएको उनीहरुले बताएका छन् ।
‘… कामकाजको शिलशिलामा भन्सार राजस्व उठाउँदा यात्रु शाखामा यात्रुबाट हुने दुव्र्यवहार र अपशब्दको त कुनै सीमा नै छैन । भन्सार जाँचपास प्रक्रियामा राज्यबाट उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरी रीतपूर्वक जाँचपास हुने मालवस्तुको संवेदनशीलतालाई समेत मध्येनजर राखी आफ्नो ज्ञान, सीप र क्षमताले भ्यासम्म असल नियत र मनसायका साथ कार्यजिम्मेवारी पूरा गर्दै आएकोमा पछिल्लो परिवेशमा सिर्जित लगभल ६० किलो सुन भन्सार चोरी/छली जाँचपासमा भएको भन्ने घटनाक्रम पश्चात विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बाहनामा विभिन्न निकायहरुबाट हामीलाई बिनाकारण दुःख दिने तथा मानसिक रुपमा क्षतविक्षत बनाउने कार्यले कार्यालयमा रही कामकाज गर्न कठिनाइ भएको महसुस भएको छ,’ भन्सार कर्मचारीद्धारा लिखित सामूहिक पत्रमा भनिएको छ ।
सो घटनामा दोषी जो कोहीलाई कारबाही गरियोस भन्ने कुरामा आफूहरुको दुईमत नरहे पनि कर्तव्य पालनको शिलशिलामा अनावश्यक धरपकड गर्ने प्रमाण बिना थुनामा राख्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदै पक्राउ गरी दुःख दिने गरिएकाले कार्यालयमा उपस्थित भई काम गर्न कर्मचारीहरुमा मनोवैज्ञानिक त्रास उत्पन्न भएको उनीहरुले बताएका छन् ।
विभिन्न परिस्थितिका कारण कार्यालयमा नियमित उपस्थि भई नियमित काम गर्ने मनोविज्ञान तथा वातावरण नभएका भन्दै उनीहरुले सामूहिक सरुवा मागेको बताएका छन् ।