काठमाडौं । देशमा निर्यात व्यापार बढाउने, रोजगारी सिर्जना गर्ने तथा आयात प्रतिस्थापन गर्ने उद्देश्य सहित पाइलट परियोजनको रूपमा सुरू गरिएको भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) संचालनमा आएको एक दशकपछि लगभग सबै प्लट भरिएका छन् ।
संचालनमा आएको वर्षौंसम्म कुनै उद्योग नआएको भैरहवा सेज ११ वर्षपछि अहिले अधिकांश प्लटहरू भरिएका हुन् । भैरहवा विशेष आर्थिक क्षेत्रका इन्जिनीयर सागर सिलवालले ६८ प्लट मध्ये हालसम्म ६६ वटा प्लट भरिएको बताए । उनले अब २ वटा प्लटमा मात्र उद्योग आउन बाँकी रहेको बताए ।
‘अब भैरहवा सेज लगभग भरिसकेको छ । ६८ वटामा ६६ वटा भरिएको छ, २ वटाको लागि पनि अनुमति मागेका छन् छिट्टै सम्झौता हुन्छ होला,’ सिलवालले चाणक्य पोष्टसँग भने ।
उनले हालै आह्वान गरिएको सूचनाका आधारमा २६ वटाले आवेदन दिएकोमा ८ वटाले सम्झौता समेत गरिसकेको बताए । बाँकीले अनुमति लिए पनि सम्झौताका लागि भने नआएको उनले जानकारी दिए । उनका अनुसार अनुमति पाएको १२० दिनभित्र सम्झौता गर्नुपर्ने हुन्छ ।
प्लाष्टिकजन्य, खाद्यान्न, मार्बल, भाँडा, गलैँचा, मेटल रिसाइक्लिङ, विद्युतीय सामग्री निर्माण गर्ने लगायत उद्योग आएको उनले बताए ।
भैरहवा सेजमा उद्योगहरू नआएपछि पटक पटक आह्वान गरिएको थियो । २०७८ फागुन १५ गते सूचना आह्वान गरिएकोमा कुनै उद्योग आएका थिएनन् । यस्तै, २०७९ वैशाख ७ मा अर्को सूचना निकालेपछि २४ वटा उद्योग आउन तयार भएका थिए ।त्यसैगरी, २०७९ मा खुलेको आवेदनका क्रममा ३७ वटा प्लट उद्योगीले लिएका थिए । त्यसपछि २०८० असार २६ गते सेजमा आउनका लागि उद्योगहरूलाई आह्वान गरिएको थियो ।
सिलवालका अनुसार भैरहवा सेजमा अहिले १ अर्ब २९ करोड रुपैयाँ लगानीका उद्योग सञ्चालनमा आउने गरी निर्माणको काम भइरहेको बताए । सम्झौता गरेको डेढ वर्षभित्र उद्योग स्थापना गरी सञ्चालनमा गरिसक्नुपर्छ ।
सेजभित्र सञ्चालनमा आउने उद्योगले उत्पादनको ६० प्रतिशत विदेश निकासी गर्नुपर्ने प्रावधान छ । उद्योगको प्रकृति हेरेर कतिपय उद्योगले एक वर्षदेखि दुई वर्षभित्र विदेश निकासी गर्ने सम्झौता गरेका छन् । हाल सेजमा स्थापना भइसकेका ७ उद्योगले वार्षिक ५० करोड रुपैयाँ बराबरको निकासी गरेका छन् । सेज पूर्ण क्षमतामा सञ्चालनमा आएपछि वार्षिक १२ अर्ब रुपैयाँको निकासी हुने अनुमान गरिएको छ ।
सेजको जमिनमा उद्योग सञ्चालन गर्न प्रतिवर्ग मिटर २० रुपैयाँ मासिक भाडा तोकिएको छ । यसमा पहिलो २ वर्षसम्म ऐनको दफा २६ बमोजिम छुटको व्यवस्था गरिएको सेजले जनाएको छ ।
भैरहवा सेज रुपन्देहीको रोहिणी गाउँपलिका–१, बगहामा ५२ बिघा क्षेत्रफलमा फैलिएको छ । सेजमा १ हजार ४०० देखि ३ हजार ७०० वर्गमिटरसम्मका ६८ वटा प्लट छन् । सरकारले १५ माघ २०६० मा विशेष आर्थिक क्षेत्र आयोजना स्थापना गर्ने निर्णय गरेको थियो । विशेष आर्थिक क्षेत्र ऐन २०७३ अनुसार १८ असोज २०७३ मा प्राधिकरण स्थापना भएको थियो ।