काठमाडौं । लामो समयदेखि शिथिल अर्थतन्त्र चलायमान बनाउन नीगित लचकता अपनाउन थालिएको छ । अघिल्लो वर्ष जस्तै चालु आर्थिक वर्ष २०७९/८० मा पनि अर्थतन्त्रको शिथिलता कायमै रहने देखिएपछि सरकारले नीतिगत कडाइ खुकुलो बनाउँदै लगेको हो ।
अर्थतन्त्र चलायमान बनाउन सरकार र नेपाल राष्ट्र बैंक दुवैले लचकता अपनाउन थालेका छन् । सरकारले घरजग्गा व्यवसाय चलायमान भए मात्रै आर्थिक गतिविधि बढ्ने भन्दै जग्गाको कित्ताकाट खुकुलो बनाएको छ । त्यस्तै, सरकारको प्रमुख सल्लाहाकार समेत रहेको नेपाल राष्ट्र बैंकले पनि चालु पूँजी कर्जा मार्गदर्शन संशोधन गर्दै कर्जा लगानी केही खुकुलो बनाएको छ ।
२०७९ जेठदेखि घरजग्गा क्षेत्रमा देखिएको मन्दी हटाउन सरकारले भूउपयोग नियमावली संशोधन गरेर तत्कालका लागि यथास्थितिमै कित्ताकाट खुलाएको छ । सरकारले गत आउन अन्तिमसाता नियमावली संशोधन गरेर कित्ताकाट खुला गर्ने निर्णय कार्यान्वयन गरेको हो ।
जग्गाको कित्ताकाट खुकुलो बनाएर व्यवसायीको मन जितेको सरकारले अन्य व्यवसाय पनि चलायमान बनाउन नीगित प्रयास गरिरहेको छ । अर्थमन्त्री प्रकाशशरण महत मन्त्रालयको नेतृत्वमा आएदेखि नीतिगत कडाइ हटाएर अर्थतन्त्र चलायमान बनाउनुपर्ने धारणा राख्दै आएका थिए ।
निजी क्षेत्रका उद्योगी व्यवसायीले पनि अर्थमन्त्री मार्फत नीतिगत कडाइ हटाउन राष्ट्र बैंकमाथि दबाब दिँदै आएका थिए । राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीति मार्फत सेयर धितो कर्जा, हायरपर्चेज कर्जा र घरजग्गा धितो कर्जामा केही पुनरावलोकन गरेको थियो ।
यी कर्जाहरूको जोखिमभार घटाएर आवासीय कर्जाको सीमा २ करोड रुपैयाँसम्म कायम गरेको राष्ट्र बैंकले सोमबार चालु पूँजीकर्जा मार्गदर्शन २०७९ दोस्रो पटक संशोधन गरेको छ ।
चालु पूँजी कर्जा मार्गदर्शनमा उत्पादन क्षेत्रका लागि लचकता अपनाइएको छ । यसअघि १ करोडसम्ममा चालु पूँजी कर्जा मार्गदर्शनको व्यवस्था लगूनहुने व्यवस्था गरिएकोमा संशोधन मार्फत उत्पादन क्षेत्रको ३ करोड र अन्य क्षेत्रको १ करोडको सीमा कायम गरिएको छ । यसैगरी, सो व्यवस्था संशोधन गरेर निर्माण व्यवसायीलाई पनि सहज बनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहलले मंगलबार प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै चालु पूँजी कर्जा मार्गदर्शनमा गरिएको संशोधनले उद्योग व्यवसायलाई चलायमान बनाउने बताए ।
‘केन्द्रीय बैंकले सोमबार मात्रै चालु पूँजी कर्जा मार्गदर्शनमा संशोधन गरेको छ । यसले उद्योग व्यवसाय क्षेत्रका सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छु,’ उनले भने ।
व्यवसायीहरू पनि जग्गाको कित्ताकाट खुला र चालु पूँजी कर्जा मार्गदर्शनमा गरिएको संशोधनको नीतिले अर्थतन्त्र केही चलायमान बनाउन सहयोग पुग्ने बताउँछन् ।
‘सरकारले केही जग्गाको कित्ताकाट खुला गर्ने निर्णयपछि राष्ट्र बैंकले चालु पूँजी कर्जा मार्गदर्शन संशोधन गरेको छ । यसले अर्थतन्त्रको लागि राम्रै गर्छ । अहिले शिथिल अवस्थामा रहेका व्यापार व्यवसायलार्य चलायमान बनाउने देखिन्छ,’ नेपाल उद्योग वाणिज्य महासंघका एक उपाध्यक्षले भने ।
डेढवर्षदेखि आन्तरिक अर्थतन्त्रको शिथिलता कायमै छ । जसको कारण बजारमा उत्पादन, माग र उपभोग वृद्धि हुन सकेको छैन । बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी बढाउन सकेका छैनन् ।
प्रणालीमा स्रोत भएर पनि लगानी नबढ्दा एकातिर नयाँ लगानी थपिने र रोजगारी सिर्जना हुने गतिविधि बढ्न सकेका छैनन् भने अर्कोतिर माग नहुँदा व्यापार र उत्पादन आधा क्षमतामा सञ्चालन भइरहेको छ ।
नियामक निकाय र राष्ट्र बैंकको यी नीतिगत खुकुलो प्रयासले अर्थतन्त्र चलायमान हुने निजी क्षेत्र र सरकारको बुझाइ छ ।