काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना (साउनमा) देशमा रोजगारीको अवसर नपाएर ५५ हजार बढी नेपाली युवा विदेशिएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार साउनमा नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५५ हजार ५७५ जना रहेको छ । यो गत आवको साउनको तुलनामा ७ हजार ४६४ जना कम हो । आव २०७९/८० को साउन महिनामा ६३ हजार ३९ जना नेपालीले श्रम स्वीकृति लिएका थिए ।
विभागका अनुसार साउनमा ३९ हजार १५२ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । जसमा वैदेशिक रोजगार व्यवसायीमार्फत २९ हजार २२४, व्यक्तिगत रुपमा ७ हजार ५६८ जना र जीटूजी मार्फत २ हजार ३६० जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ ।
साउनमा श्रम स्वीकृति लिनेमध्ये महिलाको संख्या ७ हजार ७२५ जना रहेको छ । साउनमा सवैभन्दा बढी यूएईका लागि ११ हजार ८७८ जनाले स्वीकृति लिएका छन् । त्यस्तै, कतारका लागि १० हजार ५५१ जना, साउदी अरब १० हजार ३० जना, कुवेतमा ३ हजार ७१७ जना, दक्षिण कोरियामा २ हजार ४१४ जनाले श्रम स्वीकृति लिएका छन् ।
गत वर्ष कुल ७ लाख ७१ हजार ३२७ जना नेपालीले श्रम स्वीकृति लिएका थिए ।