काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर सबैभन्दा महँगो सेयर मूल्य हुने हाइड्रोपवार कम्पनी बनेको छ । भदौ ४ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको कुथेली बुखरी माउन्टेन इनर्जीलाई उछिन्दै सबैभन्दा महँगो सेयर मूल्य हुने हाइड्रोपवारक बनेको हो ।
कारोबारमा आएदेखि यस कम्पनीको सेयर मूल्यमा हरेका दिन पोजेटिक सर्किट लाग्दै आएको छ । अर्थात् हरेक दिन सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
मंगलबार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९३३.१ रुपैयाँ पुगेको छ । यो नेप्सेमा सूचीकृत ८२ हाइड्रोपावर कम्पनीमध्ये सबैभन्दा धेरै हो ।यसअघि माउन्टेन इनर्जी महँगो सेयर मूल्य हुने हाइड्रोपावर थियो ।
प्रतिकित्ता ४७९ रुपैयाँमा करोबार खुलेको कम्पनीको सेयर मूल्य ७ कारोबार दिनमै दोब्बरभन्दा धेरै भएको हो । कम्पनीको नेप्सेमा कुल १२ लाख १८ हजार ६७५ कित्ता सेयर सूचीकृत छ । जसमा साधरण सेयर संख्या २ लाख ४३ हजार ७३५ कित्ता मात्र छ ।
साधरण सेयर संख्या न्यून रहेकाले स्वार्थ समूहले चलखेल गरी भाउ बढाएको केही लगानीकर्ता बताउँछन् । कम्पनीको वित्तीय सूचकहरु लोभ्याउने खालको नभए पनि सेयर संख्या थोरै हुँदा मूल्य अस्वभाविक रुपमा बढाइएको हो । अहि पनि कम्पनीको सेयर खरिदका लागि दैनिक १ लाख बढी कित्ताको माग भए पनि आपूर्ति एकदम थोरै छ ।
कुथेली नेप्सेमा सूचीकृत कम्पनीमध्ये उत्पादन क्षमताका आधारमा सबैभन्दा सानो कम्पनी हो । कम्पनीले हाल दोलखामा ९९८ किलोवाटको सुष्पा बुखरी खोला साना जलविद्युत आयोजना संचालन गरिरहेको छ । यसको कुल अनुमानित लागत २४ करोड ७५ लाख ५७ हजार ३३१ रुपैयाँ र प्रतिमेगावाट कुल अनुमानित लागत २४ करोड ८० लाख ५३ हजार ४३७ रुपैयाँ रहेको छ।