काठमाडौं । हाइड्रोइलेक्ट्रिीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल)ले चारवटा जलविद्युत् आयोजनामा रू १३ अर्ब लगानी गर्ने भएको छ ।
शुक्रबार एक औपचारिक कार्यक्रमबीच दुईवटा सार्वजनिक र दुईवटा निजी क्षेत्रका जलविद्युत् आयोजनासँग ऋण लगानी गर्नेसम्बन्धी समझदारीपत्र आदान–प्रदान भएको हो ।
एचआइडीसीएलले निजी क्षेत्रतर्फ तमोर इनर्जी प्राइभेट लिमिटेडले प्रवर्द्धन गरेको २८५ मेगावाटको अपर तमोर जलविद्युत् आयोजनामा रू ४ अर्ब र सानिमा जुम हाइड्रोपावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको ५६ मेगावाट उत्पादन क्षमताको सानिमा जुम जलविद्युत् आयोजनामा रू २ अर्ब ऋण लगानी गर्ने भएको छ ।
त्यस्तै, सार्वजनिक क्षेत्रतर्फ जगदुल्ला हाइड्रोपावर कम्पनीले प्रवर्द्धन गरेको १०६ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा रू ४ अर्ब र मोदी जलविद्युत् कम्पनीले प्रवर्द्धन गरेको ४२ मेगावाट उत्पादन क्षमताको माथिल्लो मोदी–ए जलविद्युत् आयोजनामा रू ३ अर्ब लगानी गर्ने सहमति भएको छ ।
ताप्लेजुङ जिल्लामा बन्न लागेको अपर तमोर जलविद्युत् आयोजनाको कुल लागत रू ५५ अर्ब १५ करोड अनुमान गरिएको छ । यसमा रू ४ अर्ब एचआइडीसीएलले लगानी गर्नेछ । त्यस्तै, डोल्पा जिल्लामा बन्ने जगदुल्ला अर्धजलाशययुक्त आयोजनाको कुल लाख रू २२ अर्ब ७८ करोड अनुमान गरिएकोमा एचआइडीसीएलले रू चार अर्ब लगानी गर्न लागेको हो ।
दोलखामा बन्न लागेको सानिमा जुम जलविद्युत् आयोजनाको कूल लागत रू ११ अर्ब ६० करोड अनुमान गरिएको छ । यो आयोजनालाई एचआइडीसीएलले रू २ अर्ब ऋण दिएको छ । त्यस्तै, कास्की जिल्लामा बन्ने माथिल्लो मोदी–ए जलविद्युत् आयोजनाको लागत रू १० अर्ब आठ करोड बराबर अनुमान गरिएकोमा रू ३ अर्ब बराबर ऋण एचआइडीसीएलको रहेको छ ।
सरकार तथा सरकारी स्वामित्वका कम्पनीको ८० प्रतिशत र २० प्रतिशत सर्वसाधारणको लगानी रहेको एचआइडीसीएलले गत आर्थिक वर्ष २०७९र८० मा बह्मयानी जलविद्युत् आयोजनामा रू ५० करोड, सुपर मादी जलविद्युत् आयोजनामा रू ९१ करोड आठ लाख र सीबाखोला जलविद्युत् आयोजनामा रू १० करोड ऋण लगानी गरेको छ ।
त्यसअघि एचआइडीसीएलले दोर्दीखोला, न्यादी, त्रिशुली–३ बी, सोलुखोला दूधकोशी र तल्लो लिखु जलविद्युत् आयोजनालगायतमा ऋण लगानी गरिसकेको छ ।
हालसम्म एचआइडीसीएलबाट लगानी भएका जम्मा आयोजनाको सङ्ख्या १९ वटा छ । निजी र सार्वजनिक क्षेत्रका यी आयोजनाको विद्युत् उत्पादन क्षमता १ हजार ४६७ मेघावाट बराबर रहेकोमा एचआइडीसीएलको लगानी २१ दशमलव २१ प्रतिशत रहेको जनाइएको छ । त्यस्तै, ९०२ मेगावाट उत्पादन क्षमता बराबरका १२ वटा आयोजनामा सेयर लगानी रहेको पनि एचआइडीसीएलले जनाएको छ ।