काठमाडौं । राष्ट्रिय गौरव आयोजना पुष्पलाल राजमार्गमा अझै १५ वटा पुलको ठेक्का लाग्न बाँकी रहेको छ । आयोजना अन्तर्गत कुल १३७ पुल निर्माण हुनुपर्नेमा १२२ वटाको ठेक्का लागे पनि १५ वटाको अझै बाँकी रहेको हो ।
सडक विभागका प्रवक्ता रामहरी पोखरेलका अनुसार यस राजमार्गमा हालसम्म १०२ वटा पुल निर्माण सम्पन्न भइसकेको छ । बाँकी ३५ पुल मध्ये २२ वटा निर्माणको चरणमा रहेको र १५ वटा ठेक्का प्रक्रियामै जान बाँकी रहेको उनले जानकारी दिए ।
उनले गत आवमा १८ वटा पुल निर्माण सम्पन्न भएको बताए । चालु आर्थिक वर्षमा २० वटा पुल निर्माण सम्पन्न गर्ने आयोजनामा रहेको छ । आयोजनाका अनुसार यो आवमा १८ वटा पुल निर्माण पूरा हुने गरी काम भइरहेको छ ।
बाँकी १५ वटा पुलको ठेक्का लगाउने तयारी भइरहेको छ । ‘यो आवमा १०० किलोमिटरका १० वटा पुल जसरी पनि पूरा गर्ने छौँ, बाँकी रहेको १५ वटा पुलको ठेक्का पनि आह्वान गर्ने छौँ,’ उनले भने ।
आर्थिक वर्ष २०६४/६५ देखि सुरू भएको यो आयोजना सुरूमा २०७३/७४ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको थियो । तोकिएको समयमा पूरा हुन नसकेको यो आयोजनामा हाल २०८४८५ सम्ममा सम्पन्न गर्ने गरि प्रस्ताव आएको सडक विभागले जनाएको छ ।
सुरूमा ३३ अर्ब ३६ करोडमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजनाको लागत हाल बढेर ८४ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । आयोजनामा हालसम्म ७६.८० वित्तीय प्रगती रहेको छ । सो अनुसार हालसम्म आयोजनामा ६४ अर्ब ७६ करोड रुपैयाँ खर्च भइसकेको छ ।
यो आयोजनामा कुल १ हजार ४१७ किलोमिटर मध्ये हालसम्म ७२.७० प्रतिशत भौतिक प्रगति भएको छ । कुल १ हजार ८७९ मध्ये आयोजनाबाट ९४० किलोमिटर, अन्य निकायबाट ४६२ किलोमिटर गरी हालसम्म कुल १ हजार ४०२ किलोमिटर कालोपत्र भएको छ ।
चालु वर्षमा यी १८ पुल सम्पन्न हुने
चालु आवमा १८ वटा पुल निर्माण पूरा गर्ने विभागले जनाएको छ । पुष्पलाल राजमार्गका अनुसार आयोजनामा १०० किलोमिटरका १८ वटा पुल निर्माण चालु आवमा पूरा गर्न लागिएको हो ।
रामेछाप, खुर्कोट, सिन्धुपाल्चोक खण्डमा मात्रै ११ वटा पुल सम्पन्न हुने भएका छन् । चालु वर्ष खोटाङको भालु पुल, मिया पुल, छिप्पे पुल, सिन्धुलीको सोखु पुल, खांगसांग पुल, सिन्धुपाल्चोकको होस्टे पुल, जरेमाने पुल, सिस्ने पुल, अमौने पुल, मंसिरे पुल, र रामेछापको खहरे पुल सम्पन्न हुने लक्ष्य राखिएके छ ।
यस्तै, चालु वर्षमा नुवाकोटको सामरी पुल, लिखु पुल, लम्जुंगको भैसे पुल, ग्याग्ली पुल, पर्वतखण्डको तमादी र दैलेखखण्डको कच्रौटे पुल सम्पन्न हुने आयोजनाले जनाएको छ ।