ग्राहक तान्न सेवामा आक्रमक बन्दै नयाँ ब्रोकर, यसरी दिँदै छन् फरक सुविधा

काठमाडौं । नयाँ ब्रोकर कम्पनीहरू ग्राहक तान्न आफ्नो सेवामा आक्रमक बन्न थालेका छन् । यी कम्पनीहरूले लगानीकर्ता आकर्षण गर्न पुराना ब्रोकरको भन्दा थप सुविधासहित सेवा दिन थालेका हुन् ।

नेपाल धितोपत्र बोर्डबाट सञ्चालन अनुमति पाएका ३७ नयाँ ब्रोकरमध्ये ७ ब्रोकर ब्रोकर कम्पनीहरूले सेयर कारोबार सुरु गरिसकेका छन् भने केही चाँडै सञ्चालनमा आउने प्रक्रियामा छन् । सेयर बजारमा ५० वटा ब्रोकर कम्पनीले कारोबार गरिरहेकै अवस्थामा थप प्रतिस्पर्धी बनाउन धितोपत्र बोर्डले नयाँ ३७ कम्पनीका लागि लाइसेन्स वितरण गरेको थियो ।

ब्रोकर सेवा सुरु गरेका नयाँ कम्पनीहरूले ग्राहकलाई आकर्षित गर्न पुरानो ब्रोकरहरूले भन्दा आफूहले फरक सुविधा दिएको बताउँछन् । कतिपय पुराना ब्रोकरले समयमै भुक्तानी नदिएर आजित भएका ग्राहकलाई तान्न नयाँ ब्रोकरले तोकिएकै दिनमै भुक्तानी दिने गरेका छन् ।

त्यस्तै, नयाँ ब्रोकरले सेयर किनबेच मात्र नभई आफ्ना ग्राहकलाई सेयर बजार सम्बन्धी साक्षर ज्ञान, सल्लाह, सुझाव दिने, उपयोगी सफ्टवेयरहरु सित्तैमा उपलब्ध गराउन थालेका छन् । साथै, आफ्नो कार्यालयमा आधुनिक सेवा सुविधायुक्त ग्राहक कक्ष स्थापना गरेका छन् ।

गत असार अन्तिम सातादेखि ब्रोकर सेवा सुरु गरेको क्यापिटल म्याक्स सेक्युरिटीज (ब्रोकर नम्बर ६२) का प्रमुख अतितलाल श्रेष्ठ पुरानो ब्रोकरभन्दा थप प्रभावकारी रुपमा आफ्नो सेक्युरिटिजले सेवा दिइरहेको बताउँछन् ।

‘हामीले लगानीकर्ताको सेवा र हितलाई मुख्य ध्यानमा राखी सेवा दिइरहेका छौं,’ उनले भने, ‘भुक्तानीमा कुनै कसुर बाँकी राखेका छैनौं । जति दिनमा दिनुपर्ने हो तुरुन्तै दिरहेका छौं । सेयर खातामा आउने बित्तिकै रकम फिर्ता गरिरहेका छौं ।’

उनले नयाँ ब्रोकर कम्पनीले विभिन्न सफ्टवेयर लगानीकतालाई निःशुल्क रुपमा दिइरहेको बताए । ‘हामीले विभिन्न सफ्टवेयर लगानीकर्तालाई फ्रीमा दिइरहेका छौं,’ उनले भने, ‘ठूलो डिस्प्ले राखेर ६०/७० जना बढी अट्ने हलको व्यवस्था गरेका छौं ।’

अहिले अपरेटिङ लागतलाई नभएर लगानीकर्ताको सुविधा र सहजतालाई फोकस गरिएको उनले बताए । व्यवसायीक रुपमा टेक्न तथा मार्केटमा स्थापित हुन पूराना ब्रोकरसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले नयाँ कम्पनीहरूले पूर्वाधार, लगानीकर्ताको गुनासो सुुन्ने कर्मचारी, नयाँ सफ्टवेयर लगायत विभिन्न संरचनाहरू थपेर परिष्कृत गरिहरेका छन् ।

हालै सेवा सुरु गरेका एक अर्का ब्रोकर सञ्चालक पनि पुरानो कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले नयाँ कम्पनी थप परिष्कृत र सुविधासहित आइरहेको बताउँछन् ।

‘बजारमा प्रतिस्पर्धा गर्न त्यत्ति सजिलो छैन । लगानीकर्ताको संख्या वृद्धि भए पनि दोस्रो बजारमा कारोबार गर्नेहरूको संख्या थोरै छ,’ उनी भन्छन्, ‘ती मध्ये पनि लामो धेरै जसो पुराना ब्रोकरसँग संलग्न छन् । त्यसैले प्रारम्भिक चरणमा लगानीकर्ता आकर्षण गर्न समय पक्कै लाग्छ । त्यसको लागि हामी फरक रुपमा सेवा दिइरहेका छौं ।’

यसअघि नेपालमा ५० वटा ब्रोकर कम्पनीहरूले लगानीकर्तालाई सेवा दिँदै आएका थिए । गत वर्ष ३७ थप भएसँगै योसंख्या अब ८७ पुगेको छ । नयाँ कम्पनीहरूले आफूलाई लगानीकर्ता माझ स्थापित गराउन विभिन्न रणनीतिहरू अपनाइरहेका छन् ।

पूँजी बजारको नियामक धितोपत्र बोर्डले २०७९ भदौ २९ मा धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४, को पाँचौं संशोधन मार्फत थप ब्रोकर लाइसेन्स दिने बाटो खुला गरेको थियो । जसअनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा र पूर्णकार्य गर्ने धितोपत्र दलाल सेवागरी बोर्डले चुक्ता पूँजी र पूर्वाधार हेरेर ब्रोकर लाइसेन्स दिने व्यवस्था गरेको छ ।

नियमावली अनुसार २० करोड रुपैयाँ चुक्ता पूँजी भएका ब्रोकरले सीमित कार्य, ६० करोड रुपैयाँ पूँजी भएकाहरूले पूर्णकार्य र १ अर्ब ५० करोड रुपैयाँ ब्रोकरले धितोपत्र व्यापारीको काम गर्न पाउँछन् ।

अहिले तोकिएको मापदण्ड र पूर्वाधार काय गरेर ब्रोकर लाइसेन्सका लागि आवेदन दिने कम्पनीहरूले बोर्डबाट सञ्चालनको अनुमति पाउँछन् । धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले पूँजी बजारलाई प्र्रतिस्पर्धी, कारोबारलाई थप व्यवस्थित र लगानीकर्ताको सहजताको लागि ब्रोकर नयाँ ब्रोकर कम्पनी सञ्चालनको बाटो खुला गरिएको सार्वजनिक फोरमहरूमा बताउने गरेका छन् ।

अध्यागमन विभागका महानिर्देशकलाई जिम्मेवारीबाट हटाइयो, मन्त्रालयमा तानिए Read Previous

अध्यागमन विभागका महानिर्देशकलाई जिम्मेवारीबाट हटाइयो, मन्त्रालयमा तानिए

उदीयमान राष्ट्रहरूको संगठन ब्रिक्समा थपिए ६ देश Read Next

उदीयमान राष्ट्रहरूको संगठन ब्रिक्समा थपिए ६ देश