बरामद सुनमा छैन मिसावट, शुद्धता ९९.९ प्रतिशत

काठमाडौं । तस्करहरुले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुनको शुद्धता ९९.९ प्रतिशत भएको परीक्षणबाट पाइएको लागेको छ । हाल नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको सुन परीक्षण गर्दा पूर्ण शुद्ध रहेको पाइएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले जानकारी दिए ।

उनले उक्त सुन ९९.९ प्रतिशत नै शुद्ध रहेको भनेर विभागलाई जानकारी गराइएको रासससँग बताए। ‘९९.९ प्रतिशत हुनु भनेको सुन पूर्ण शुद्ध हो,’ उनले भने।

टक्सार विभागले सुनको परीक्षण प्रतिवेदन राष्ट्र बैंक, राजस्व अनुसन्धान विभागलगायत सरोकारवाला निकायमा पठाइसकेको छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले सुन पूर्ण शुद्ध रहेको जानकारी आएको बताए। प्राप्त जानकारीमा उक्त सुन २४ क्यारेटकै रहेको जनाइएको छ ।

बरामद गरिएको सुन गत साउन ३० गते गालेर बिस्कुट बनाइ जोख्दा ६० किलो ७१६ ग्राम भएको थियो । त्यसको अघिल्लो दिन साउन २९ गते ब्रेक शुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो ७८९ ग्राम तौल थियो । गालेपछि सुनको मात्रा ७३ ग्राम घटेको थियो ।

राजस्व अनुसन्धान विभागले साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । अहिले सुन तस्करीको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले अनुसन्धान गरिरहेको छ ।

साउनमा घट्यो जग्गाको कित्ताकाट, यी ठाउँमा भयो धेरै Read Previous

साउनमा घट्यो जग्गाको कित्ताकाट, यी ठाउँमा भयो धेरै

ठूला सिचाइँ आयोजना दशकौंदेखि अधुरै, प्रतिफल पाउन अझैं वर्षौं कुनुपर्ने Read Next

ठूला सिचाइँ आयोजना दशकौंदेखि अधुरै, प्रतिफल पाउन अझैं वर्षौं कुनुपर्ने