निगमले वीरगञ्जबाट सुरू गर्‍यो पेट्रोलियम पदार्थको बिलिङ, भाउ सस्तिने

काठमाडौं । नेपाल आयाल निगमले वीरगञ्जबाट पेट्रोलियम पदार्थको बिक्री वितरण पुनः सुरु गरेको छ । शनिबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण व्यवस्थित र सहज बनाउन पेट्रोलियम पदार्थको बिलिङ सुरु गरेका हुन् ।

योसँगै पर्सा र बारामा हालकोभन्दा प्रतिलिटर ७५ पैसा पेट्रोल, डिजेलको भाउ सस्तो हुने अनुमान छ । यस अघि निगमको वीरगञ्ज स्थित कार्यालयले इण्डियन आयलको रक्सौल डिपोबाट निगमको लागि सबै प्रकारका पेट्रोलियम पदार्थ लोड गराउने एवं पर्सा, बारा तथा रौतहट जिल्लाको केही डिलरहरूलाई बिक्री विरतणको व्यवस्था मिलाउने गरेको थियो ।

२०७६ वैशाख २६ देखि भने पेट्रोलियम पाइपलाईनबाट आयात हुन थालेपछि वीरगञ्ज कार्यालयले गर्ने बिलिङ सम्बन्धी कार्य अमलेखगंज स्थित निगमको कार्यालयले गर्ने गरेको थियो ।

अब भारतबाट पाइपलाईन मार्फत नेपाल आउने पेट्रोलियम पदार्थको बिलिङ सम्बन्धि कार्य वीरगञ्ज स्थित आयल निगमको कार्यालयबाट हुनेछ । यसबाट बारा, पर्सा, रौतहट, गरी करिब ११५ वटा डिलरहरूले सेवा प्राप्त गर्नेछन् ।

आयल निगमको वीरगञ्ज स्थित कार्यालयबाटै बिलिङ दिने कामको सुरुवात भएकोले अब बिलिङका लागि अमलेखगञ्ज धाउनुपर्ने अवस्थाको समेत अन्त्य भएको छ ।

अहिलेका लागि निगमको वीरगञ्ज स्थित कार्यालयबाट डिजेलको बिलिङ गरिने र पेट्रोल तथा मट्टीतेलको प्रादेशिक कार्यालय अमलेखगञ्जबाटै हुने व्यवस्था मिलाइएको छ ।

वीरगञ्ज स्थित कार्यालयबाट बिलिङ सुरु गर्दा ढुवानी व्यवसायीलाई सहज हुने र ढुवानी खर्चसमेत कम लाग्ने छ ।

पहिराले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध Read Previous

पहिराले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध

भदौ १० देखि प्रिमियममा आइपीओ बिक्री गर्दै माण्डु हाइड्रोपावर Read Next

भदौ १० देखि प्रिमियममा आइपीओ बिक्री गर्दै माण्डु हाइड्रोपावर