काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि प्रिमियममा प्राथमिक साधारण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले दोस्रो चरणमा आम सर्वसाधरणका लागि आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २०६ रुपैयाँ दरले १२ लाख ५ हजार ३२० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
लगानीकर्ताले उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । सो आइपीओमा भदौ १३ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा मात्र ढिलोमा भदौ २४ गतेसम्म आवेदन दिन पाइने छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।
कम्पनीले प्रबर्धन गरि हाल सञ्चालनमा रहेको २२ मेगावाटको बागमती साना जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार २५८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल लागत १८ करोड २७ लाख रुपैयाँ रहेको छ।