सबल सार्वजनिक संस्था बन्दै विद्युत् प्राधिकरण, २२ लाख ग्राहकलाई निःशुल्क बिजुली

काठमाडौं । उज्यालो नेपालको परिचय बनाएको नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ३८औँ वार्षिकोत्सव मनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आथित्यतामा प्राधिकरणले आफ्नो वार्षिकोत्सव मनाएको हो ।

राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको प्राधिकरणले मधेस प्रदेशमा शत्प्रतिशत विद्युतीकरण गरेको छ । यस्तै, बागमती प्रदेशमा ९९.२१, गण्डकी प्रदेशमा ९९.०२ प्रतिशत बराबर विद्युतीकरण गरेको छ ।

यस्तै, कोशी प्रदेशमा ९५, लुम्बिनीमा ९८, कर्णालीमा ६८ र सुदूरपश्चिम प्रदेशमा ८२ प्रतिशत घरधुरीमा केन्द्रीय प्रसारण प्रणालीमार्फत बिजुली पुर्याएको छ ।

कूल ७५३ स्थानीय तहमध्ये ५०५ स्थानीय तहमा पूर्ण बिजुली पुर्याएको प्राधिकरणले २२७ स्थानीय तहका अधिकांश स्थानमा र बाँकी रहेका २१ स्थानमा साना तथा लघु जलविद्युत् आयोजनाबाट बिजुली उपलब्ध गराइएको छ । आगामी दुई वर्षमा बिजुली उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

प्राधिकरणले ५६ लाख ५८ हजार घरधुरीमा आफैं बिजुली पुर्याएको छ । प्रतिव्यक्ति विद्युत् खपत ३८० बराबर पुगेको छ । ग्रामीण क्षेत्रमा विद्युतीकरणको अन्तिम मार्च गरिरहेको प्राधिकरणले कोही नेपाली पनि अँध्यारोमा बस्नु नपरोस् भन्ने सङ्कल्प लिएको छ ।

प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार, प्राधिकरण र निजी क्षेत्र तथा विकास साझेदार निकायसँग समन्वय गरी आवश्यक वित्तीय श्रोत व्यवस्थापन गर्दै जलाशयुक्त आयोजना निर्माण गर्ने प्रमुख प्राथमिकताका साथ सरकार लागिपरेको बताए ।

यस्तै, चार सय केभी क्षमताका प्रसारण लाइनसमेत निर्माण गरी आन्तरिक मागको सम्बोधन गर्दै बढी भएको बिजुली भारत लगायतका देशमा निकासीका लागि सरकार प्रयासरत रहेको उनको भनाइ छ ।

राष्ट्रिय ग्रिडको पहुँच पुग्ने गरी सबै नागरिकको घरधुरीमा नियमित र भरपर्दो रुपमा विद्युत् आपूर्ति गर्न, आधुनिक प्रविधिको प्रयोग गरी प्रसारण तथा वितरण प्रणालीको विस्तारका लागि आवश्यक नीति, कार्यक्रमका साथ मन्त्रालय अगाडि बढिरहेको मन्त्री बस्नेतको भनाइ छ । मुलुकलाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउँदै नेपाली नागरिकलाई गुणस्तरीय, भरपर्दो रुपमा विद्युत् सेवा प्रदान गर्न, ऊर्जाको माध्यमबाट जनताको सामाजिक तथा आर्थिक रुपान्तरण गर्न सरकारले सार्थक प्रयास गरिरहेको बताए।

२२ लाख ग्राहक निःशुल्क बिजुली

हाल न्यूनतम २० युनिटसम्म बिजुली उपभोग गर्ने झन्डै २२ लाख ग्राहकले निःशुल्क रुपमा प्राप्त गरेका छन् । आर्थिक वर्ष २०७२/७३ मा कूल २५.७८ प्रतिशत विद्युत् चुहावट रहेकामा आव २०७९/८० मा १३.४६ प्रतिशत कायम गर्न सफल भएको छ ।

आर्थिक बर्ष २०७२/७३ मा रु ३४ अर्ब ६१ करोड सञ्चित घाटा रहेको प्राधिकरणले आव २०७३/७४ मा रु एक अर्ब ५० करोड, आव २०७४/७५ मा रु तीन अर्ब ४३ करोड नाफा कमाएको थियो । यस्तै, आव २०७५/७६ मा रु नौ अर्ब ८१ करोड, आव २०७६/७७ मा रु ११ अर्ब ७५ करोड, आव २०७७/७८ मा भने घटेर रु छ अर्ब १० करोड मात्रै नाफा कमाउन सफल भएको थियो ।

यस्तै, आव २०७८/७९ मा रु १३ अर्ब ३७ करोड नाफा गरेको प्राधिकरणले आव २०७९/८० को अपरिस्कृत वित्तीय विवरणअनुसार रु १२ अर्ब ३३ करोड बराबर रहेको छ ।

प्राधिकरणको सञ्चित नाफा रु ३६ अर्ब ६७ करोड बराबर पुगेको छ । सार्वजनिक संस्थानहरुमध्ये धेरै नाफा कमाउने थोरै संस्थाहरुमध्ये प्राधिकरण अब्बल देखिएको छ ।

पछिल्ला दुई वर्षमा प्राधिकरणले वितरण तथा प्रसारण प्रणालीका लागि मात्रै रु ४८ अर्ब बराबरको लगानी आन्तरिक स्रोतबाट गरेको छ । प्राधिकरणको प्रणालीमा कूल जडित क्षमता २ हजार ८२२ मेगावाट बराबर पुगेको छ । प्राधिकरणले कूल आठ हजार ५२ मेगावाट बराबरको विद्युत् खरिद बिक्री सम्झौता गरेको छ ।

प्राधिकरणले जवा तिला, भारभूङ, वेगनास रुपा पम्प स्टोरेज र माथिल्लो मुस्ताङ जलाशययुक्त जलविद्युत् आयोजनाको अध्ययन जारी छ । आव २०७९/८० मा ६६ केभी तथा सोभन्दा माथिका प्रसारण लाइन ४१३ सर्किट किलोमिटर थप भएको छ ।

कूल सञ्चालन रहेको ६६ केभी र सोभन्दा माथिका प्रसारण लाइनको लम्बाइ पाँच हजार सात सय ४२ सर्किट किलोमिटर बराबर पुगेको छ । यस्तै, ३ हजार १७५ सर्किट किमी प्रसारण लाइन र १० हजार दुई सय ९० एमभिए क्षमताको ग्रिड सबस्टेसन निर्माणाधीन छन् ।

नेपालीको घरदैलोमा नियमित र भरपर्दो विद्युत् सेवा पुर्याउन वितरण प्रणाली विस्तारको कार्य उच्च प्राथमिकताका साथ अगाडि बढाइएको छ । वितरण प्रणालीको स्तरोन्नति एवं सहरको सुन्दरता अभिवृद्धि हुनेगरी काठमाडौँ उपत्यकालगायत पोखरा र भरतपुरमा वितरण प्रणालीलाई भूमिगत गर्ने काम जारी छ ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, सञ्चालक समितिका सदस्य, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)का अध्यक्ष गणेश कार्की लगायतको सहभागिता थियो ।

 

ग्लोबल आइएमई बैंकले बचतमा उच्च ब्याज दिँदै, रेमिट्यान्स बचतमा २% धेरै Read Previous

ग्लोबल आइएमई बैंकले बचतमा उच्च ब्याज दिँदै, रेमिट्यान्स बचतमा २% धेरै

साउनमा सरकारको आम्दानी ८८ अर्ब, खर्च ३५ अर्ब  Read Next

साउनमा सरकारको आम्दानी ८८ अर्ब, खर्च ३५ अर्ब