काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले वार्षिक विनियोजनको २.१ प्रतिशत बजेट खर्च गरेको छ भने करिब ६ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार साउन मसान्तसम्ममा सरकारले रू ३५ अर्ब १७ करोड ९० लाख बराबर बजेट खर्च गरेको छ । यही अवधिमा सरकारको राजस्व सङ्कलन रू ८८ अर्ब १३ करोड ९० लाख बराबर छ ।
चालु आर्थिक वर्षमा सरकारले कुल रू १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । जसमध्ये चालुतर्फ रू ९ खर्ब ४९ अर्ब ३३ करोड ५६ लाख, पूँजीगततर्फ रू चार खर्ब ७१ अर्ब छ करोड ५८ लाख र वित्तीय व्यवस्थातर्फ रू ३ खर्ब ३० अर्ब ९१ करोड सात लाख बराबर बजेट छुट्याइएको थियो ।
साउन मसान्तसम्ममा चालुतर्फ रू १२ अर्ब १९ करोड १७ लाख अर्थात् वार्षिक लक्ष्यको १.२८ प्रतिशत र पूँजीगततर्फ रू ९० करोड ६१ लाख अर्थात् वार्षिक लक्ष्यको ०.१९ प्रतिशत बराबर खर्च भएको छ । यो अवधिमा चालु र पूँजीगत शीर्षकमा भएको भन्दा वित्तीय व्यवस्थामा भएको बजेट खर्च धेरै छ ।
साउनमा सरकारले वित्तीय व्यवस्थातर्फ रू २२ अर्ब सात करोड ८१ लाख बराबर खर्च गरेको छ । जुन वित्तीय व्यवस्थातर्फको वार्षिक लक्ष्यको ६.६७ प्रतिशत बराबर हो ।
त्यस्तै चालु आर्थिक वर्षको पहिलो महिनामा राजस्व सङ्कलनमा कर राजस्वतर्फ रू ७० अर्ब १७ करोड ५२ लाख अर्थात् वार्षिक लक्ष्यको ५.३८ प्रतिशत र गैरकर राजस्वतर्फ रू ८ अर्ब ६९ करोड ८९ लाख बराबर अर्थात् वार्षिक लक्ष्यको ७.४३ प्रतिशत बराबर सङ्कलन भएको छ ।
महालेखा नियन्त्रकको तथ्याङ्कअनुसार सरकारले साउन महिनामा वैदेशिक अनुदान भने उठाएको देखिँदैन ।