विद्युतीय चुल्होको आयात बढ्दै, ग्यास खपत घट्दै

काठमाडौं । विद्युतीय (इन्डक्शन) चुल्होको आयात वर्षेनी बढ्दै गएको छ । विद्युत् आपूर्ति नियमित हुन थालेपछि उपभोक्ताले खाना पकाउन एलपी ग्यासको विद्युतीय चुल्होलो प्रयोग गर्न थालेपछि आयात बढ्दै गएको हो ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा २८ करोड रुपैयाँ बढीको १ लाख ३० हजार ७४५ थान विद्युतीय चुल्हो आयात भएको छ । यो अघिल्लो वर्षको तुलनामा १४ हजार थान बढी हो । अघिल्लो आव २०७८/७९ मा २३ करोड ५२ लाख ८० हजार रुपैयाँ बराबरको १ लाख १६ हजार ८१० थान इन्डक्सन चुल्हो आयात भएको थियो ।

यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ८ करोड ७५ लाख ६७ हजार रुपैयाँ बराबरका ४१ हजार ४५४ वटा इन्फ्रारेड चुल्हो आयात भएको थियो  । सो आवमा १४ हजार ४७४ हजार रुपैयाँ बराबरको ८ हजार ९१५ वटा अन्य विद्युतीय चुल्हो आयात भएको थियो ।

विद्युतीय चुल्होको प्रयोग बढ्न थालेसँगै एलपी ग्यासको खपत पनि क्रमशः घट्न थालेको छ । गत आर्थिक वर्ष २०७९/८० मा ५८ अर्ब बढीको ५१ करोड ४३ लाख ४० हजार ७६८ केजी आयात भएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष ग्यास आयात २ करोड १५ लाख केजी कम हो ।

आर्थिक वर्ष २०७८/७९ मा ५३ करोड ५८ लाख ६५ हजार ४१५ केजी खाना पकाउने ग्यास आयात भएको थियो । सो ग्यास ६५ अर्ब ५५ करोड ९ लाख ७७ रुपैयाँमा आयात भएको थियो ।

आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले खाना पकाउन वैकल्पिक उपायका रुपमा विद्युतीय उपकरणको प्रयोग बढ्दै गएकाले ग्यासको खपतमा थोरै कमी आएको बताए ।

सरकारले विद्युतीय चुल्होको प्रयोगलाई प्रोत्साहन गर्न करमा समेत छुट दिँदै आएको छ । पछिल्ला वर्षहरूमा सरकारले विद्युतीय चुल्होमा भन्सार दर घटाउँदै आएको छ । आर्थिक वर्ष आव २०७८/७९ को आर्थिक ऐनमा इन्डक्सन चुल्हो आयातमा लाग्दै आएको भन्सार दर ४ प्रतिशतले घटाएको थियो । यसअघि इन्डक्सन चुल्होको आयातमा ५ प्रतिशत भन्सार लाग्ने गरेको थियो । आव २०७८/७९ को बजेटमा इन्डक्सन चुल्होको भन्सार दर १ प्रतिशतमा झारिएको थियो । यसरी विद्युत् खपत बढाउने उद्देश्यले सरकारले भन्सारमा छुट दिँदै आएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा समेत पनि यी वस्तुमा लाग्दै आएको भन्सार दर घटाएको थियो । आर्थिक वर्ष ०७६/७७ मा विद्युतीय वस्तुमा लाग्दै आएको १५ प्रतिशत भन्सार दरको १० प्रतिशत प्रतिशत घटाएर ५ प्रतिशतमा झारिएको थियो ।

 

विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्छ : प्रधानमन्त्री Read Previous

विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्छ : प्रधानमन्त्री

रिलायबल लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Next

रिलायबल लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा