काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको खुद नाफा दोब्बरभन्दा धेरैले बढेको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको गत आव २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ११४.९९ प्रतिशतले बढेको छ ।
गत असार मसान्तसम्म कम्पनीले ३ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा १ करोड ७१ लाख रुपैयाँ धेरै हो । अघिल्लो वर्ष कम्पनीले १ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
पछिल्लो समय पर्यटकीय गतिविधिमा उल्लेख्य सुधार आएसँगै कम्पनीको आम्दानी बढ्दा नाफामा उल्लेख्य सुधार आएको हो ।
कम्पनीको सञ्चालन आदानी ३३.८२ प्रतिशत बढेर ७ करोड ५९ लाख, कुल आम्दानी ३५.०१ प्रतिशत बढेर ६ करोड ८२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, अन्य आम्दानी ४८.६० प्रतिशत बढेर २ करोड ५ लाख रुपैयाँ पुगेको छ ।
हाल ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष भने १ करोड ४८ लाख रुपैयाँ ऋणात्मक छ ।
नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी २.२३ रुपैयाँ बढेर ५.३२ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ९६.९९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५७ गुणा छ ।